पक्राउ परेका चिनिया नागरिक देश निकाला गर्ने तयारी, लिन चिनियाँ जहाज आउने

जनपत्र
१५ पुष २०७६, मंगलवार ०५:५५

नेपाल बसेर चीनमा इन्टरनेटमार्फत अवैध गतिविधि गरिरहेको आशंकामा पक्राउ परेका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले विशेष निर्णय गरेर भिसा दुरुपयोगको कसुरमा देश निकाला गर्ने तयारी गरेको छ ।

प्रहरीले उनीहरूमाथि लगाएको अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सकेर अध्यागमन विभागमार्फत पक्राउ परेका सबैलाई भिसा दुरुपयोगसम्बन्धी कसुरमा कारबाही गरी निष्कासन गर्ने तयारी भएको हो । नेपालसँग सुपुर्दगी सन्धि नभएका मुलुकका नागरिक पक्राउ पर्दा यसरी गृह मन्त्रालयमार्फत निर्णय गराएर उनीहरूलाई स्वदेश पठाइने गरिएको छ । यस्तै, अपराधमा संलग्न आफ्ना नागरिक विदेशी भूमिमा पक्राउ पर्दासमेत सो देशसँग सन्धि नभएको खण्डमा यसैगरी नेपाल ल्याइने गरिएको छ ।

७ पुसमा राजधानीका नौ वटा घरबाट नेपाल बसेर चीनमा आर्थिक अपराधका घटनामा संलग्न रहेका १ सय २२ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले नेपाल बसेर इन्टरनेटमार्फत चीनमा अर्थतन्त्र धराशायी बनाउने गरी गतिविधि गरेको, इन्टरनेटमार्फत जुवा खेलाएको र इन्टरनेटबाट नै यौनजन्य अश्लिल गतिविधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । अध्यायमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले प्रहरीतर्फको अनुसन्धान सकिएपछि चिनियाँ दूतावाससँगको समन्वयमा उनीहरूमाथि अध्यागमन कानुन दुरुपयोग गरेको कसुरमा कारबाही प्रक्रियाअघि बढ्ने जानकारी दिए ।

‘हालसम्म सो घटना प्रहरीको क्षेत्राधिकार भित्रै छ, प्रहरीतर्फको अनुसन्धान सकिएपछि प्रहरी र दूतावाससँगको समन्वयमा उनीहरूको डकुमेन्ट अध्यागमनले भेरिफिकेसन गर्छ,’ विभागका महानिर्देशक पौडेलले राजधानीसँग भने, ‘डकुमेन्ट भेरिफिकेसनपछि भिसा दुरुपयोग कसुरमा अध्यागमन कानुनअनुसार निष्कासनको प्रक्रियामा जान्छौं ।’

अध्यागमन विभागले प्रहरीतर्फको अनुसन्धान सकिएपछि पक्राउ परेकाहरूसँग पासपोर्ट भए नभएको हेर्ने, नभएकाहरूको अन्य डकुमेन्ट खोज्ने र अन्य कुनै डकुमेन्टसमेत फेला नपरे चिनियाँ दूतावाससँगको समन्वयमा आंैठा छापको बायोमेट्रिक प्रणालीमार्फत उनीहरूको ट्राभल डकुमेन्ट बनाएर निष्कासन गरिने जनाएको हो ।

यसरी निष्कासन गर्ने आफ्ना नागरिकलाई लिन चीनले दुईवटा चार्टर विमान पठाउने तयारी गरेको छ । अभद्र व्यवहारको मुद्दाको अनुसन्धान सकिएपछि मात्रै विमान कहिले आउने भन्ने टुंगो लाग्नेछ ।
प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकको साथबाट ७ सय ४७ थान मोबाइल र ३ सय ३१ थान ल्यापटप, ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ र ३ सय २७ थान सिमकार्ड बरामद गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*