नारायणगढ मुग्लिन सडकखण्ड २२ गतेसम्म दिउँसो बन्द हुने

जनपत्र
१२ पुष २०७६, शनिबार ०५:५६

नारायणगढ मुग्लिन सडकखण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने भएको छ । सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै शुक्रबार बसेको सुरक्षा समितिको बैठकले पुस २२ गतेसम्म दिउँसोको समयमा बन्द गरेर काम गर्ने निर्णय गरेको हो ।

गएको मंसिर २७ गतेदेखि पुस ११ गतेसम्मका लागि बन्द गरेर काम भएको भए पनि काम नसकिएपछि फेरि समय थप गर्ने निर्णय भएको हो । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरेर आवश्यक ८ स्थानमा पहिरो रोकथामको लागि काम गरिने आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।

सडक खण्डको गाईघाट, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे, चारकिलो, टोपेखोला र कालिखोला क्षेत्रमा पहिरो रोकथामको काम हुँदैछ । १३ करोड रुपैयाँको लागतमा बज्रगुरु हिमशिखर न्यु टेक्निकल जेभीले काम गरिरहेको खनालले बताउनुभयो ।

सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको खनालले जानकारी दिनुभयो । विश्व बैंकको ऋण सहयोगमा एसियन हाइवे स्टान्डर्डको डबल लेनमा स्तरोन्नति भइसकेको भए पनि सडक क्षेत्रमा पहिरो रोकथामका लागि आवश्यक संरचना निर्माणको काम बाँकी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*