बाख्रा पैंचो कार्यक्रम विद्यार्थीमाझ लोकप्रिय बन्दै

जनपत्र
११ पुष २०७६, शुक्रबार ०६:०२

मुसीकोट नगरपालिका–१ स्थित राजापानी आधारभूत विद्यालयका विद्यार्थीबीच बाख्रा पैंचो कार्यक्रम लोकप्रिय भएको छ । यस पटक कक्षा २ का सन्दीप रोका, ३ का पुरुषोत्तम देवकोटा, ४ की भावना वादी र ५ की विमला खत्री गरी चार जनालाई बाख्रा वितरण गरिएको हो । उनीहरू कक्षा १, २, ३ र ४ मा पहिलो भएकाले इनामस्वरूप बाख्रा पैंचो दिइएको हो ।

वि।सं। २०६८ मा विद्यालयले रू। ५ हजारमा एउटा बाख्रा किनेर एकजना विद्यार्थीलाई दिएको थियो । त्यसपछि विद्यार्थीले नै विद्यार्थीलाई बाख्रा पैंचो दिने गर्दैआएका छन् । यसपटक बाख्रा पाएका चार विद्यार्थीले अब अर्को वर्ष ४ विद्यार्थीलाई एक÷एक ओटा बाख्रा दिनेछन् । मूल बाख्रा र अरू पाठापाठीबाट भएको आम्दानीलाई पठनपाठनमा प्रयोग गर्दैआएको विद्यार्थीहरू बताउँछन् । आठ वर्षको अवधिमा १७ विद्यार्थीले एकरएक ओटा बाख्रा पाएका छन् ।

शिक्षाका लागि आयआर्जन कार्यक्रमअन्तर्गत विद्यालयले बाख्रा पैंचो कार्यक्रम शुरू गरेको थियो । आर्थिक अभावमा १ देखि ५ कक्षाको पढाइसमेत प्रभावित हुने भएपछि कार्यक्रम शुरू गरिएको प्रधानाध्यापक डण्डबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बाख्रा पैंचो कार्यक्रमले विद्यार्थीको संख्या बढाउन तथा विद्यार्थीलाई नियमित पठनपाठनमा संलग्न हुन सहयोग पुगेको छ ।

उक्त विद्यालयमा दुई स्थानीय तह मुसीकोट नगरपालिका र बाँफीकोट गाउँपालिकाका बालबालिका पढ्ने गर्दछन् । ५ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा ६८ विद्यार्थी र ४ शिक्षक छन् । अन्य स्रोत नभएको विद्यालयले विभिन्न योजनाबाट रकम बचाएर रू। ५ हजारमा पहिलो बाख्रो किनेर पैंचो कार्यक्रम शुरू गरेको थियो ।

अहिले पनि विद्यालयका लागि शिक्षक अपुग रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मने सार्कीले बताए । मुसीकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले पनि बालबालिकालाई विद्यालयमा टिकाई राख्न बाख्रा पैंचो कार्यक्रम प्रभावकारी बनेको बताए । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*