राष्ट्रिय च्याउ जागरण अभियान आजदेखि

जनपत्र
९ पुष २०७६, बुधबार ०६:३९

च्याउ उत्पादक किसान संघ, नेपालले बुधवार ९आज०देखि ‘मेची–महाकाली राष्ट्रिय च्याउ जागरण अभियान २०७६’ शुरू गर्ने भएको छ । च्याउको पौष्टिकता तथा यसबाट बन्ने परिकारबारे जानकारी दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको संघले बताएको छ ।

अभियानबाट च्याउ उत्पादनका क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्न सम्बद्ध सरकारी निकायहरूलाई दवाब दिन तथा च्याउ किसान, व्यवसायी र सरोकारवाला पक्षहरूको आवाजलाई एकीकृत गर्न पनि मद्दत पुग्ने आयोजकको विश्वास छ । यस्तै अनधिकृत रूपमा भारतलगायत देशबाट आयात हुने कम गुणस्तरका च्याउको आयात बन्द गरी गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सहजीकरण गर्न अभियान उपयोगी हुने बताइएको छ ।
च्याउ उत्पादक किसानले कच्चा पदार्थ, गुणस्तरीय बिउ, पूँजी, बीमा, श्रमिक, क्वारेन्टाइन, जग्गा, बजार व्यवस्थापन, भण्डारगृहको अभाव लगायतका समस्या भोग्दै आएका छन् । बुधवार झापाको काँकडभित्तामा उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गरी शुरू गरिने अभियान ३ दर्जनभन्दा बढी जिल्लामा विभिन्न कार्यक्रम गर्दै पुस २९ गते ललितपुरको खुमलटारमा आएर समापन गरिनेछ ।

हाल नेपालमा कन्ये, गोब्रे, सिताके, मिल्की र ग्यानोडर्मा प्रजातिका बिउ तथा च्याउ उत्पादन गरिन्छ । यो व्यवसायमा करीब ३५ हजारले रोजगारी पाएको अनुमान गरिएको छ । बिउ उत्पादन र च्याउ खेतीमा निजीक्षेत्रको २ करोड रुपैयाँभन्दा बढी लगानी रहेको संघले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*