राजविराजबाट माघ १८ देखि बुद्ध एयरको उडान

जनपत्र
४ पुष २०७६, शुक्रबार ०६:३२

बुद्ध एयरलाइन्सले सप्तरीको राजविराज विमानस्थलबाट आगामी माघ १८ गतेदेखि नियमित हवाई उडान गर्ने भएको छ ।यसअघि राजविराज विमानस्थलबाट श्री एयरलाइन्सले हप्तामा सोमवार, बुधवार र शुक्रवार उडान गर्दै आएको थियो । श्रीसँगै बुद्ध एयरले दैनिक हवाई सेवा सुचारु गर्ने निश्चित भएको नागरिक उड्डयन कार्यालय, राजविराजका प्रमुख भीमदत्त पन्तले जानकारी दिए । उनका अनुसार बुद्ध एयरले नियमित उडान भर्ने निश्चित भइसके पनि त्यसको समय भने निश्चित हुन सकेको छैन । हवाई यात्राका लागि उदयपुर, सिरहा, सुनसरी लगायतबाट यात्रु आउने भएकाले त्यसलाई समेत लक्षित गरी आफूले दिउँसोको ९ देखि ११ बजेको समयमा उडानका लागि सुझाव दिएको उनले जानकारी दिए ।

बुद्ध एयरको प्राविधिक टोलीले स्थलगत अवलोकन गरी राजविराजमा कार्यालय सञ्चालन गर्ने तयारी गरेको नागरिक उड्डयन प्राधिकरण कार्यालय राजविराजका प्रमुख पन्तले बताए । प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने तथा यात्रुको चापलाई ध्यानमा राखी ७२ सिट क्षमताको विमानले उडान गर्ने जानकारी दिइएको छ ।

राजविराज विमानस्थलबाट रात्रिकालीन उडानको समेत परीक्षण थालिएको छ । रात्रिकालीन उडानको विषयमा सम्भाव्यता अध्ययनका लागि नागरिक उड्डयन प्राधिकरण काठमाडांैबाट विज्ञसहितको ६ जनाको टोली राजविराज आइपुगेको राजविराज प्राधिकरणका प्रमुख पन्तले जानकारी दिएका छन् । उनका अनुसार देवेन्द्र श्रेष्ठ, राजेन्द्रसिंह नायक, महेश बस्नेत लगायतका विज्ञ तथा प्राविधिकको टोलीले रात्रिउडानका लागि अध्ययन तथा आवश्यक तयारी थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*