प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना : तरकारी जोनका लागि १ करोड ४२ लाख अनुदान

जनपत्र
३० मंसिर २०७६, सोमबार ०६:३५

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनले ‘तरकारी जोन’ कार्यक्रम अन्तर्गत चालू आवमा १ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको अनुदान दिने भएको छ । यसका लागि कार्यालयले सूचना प्रकाशित गरी निवेदन दिन कृषकलाई आह्वान गरेको छ ।

तरकारी जोनका कार्यक्रम मार्फत अनुदान पाउन किसानले पुस १४ गतेसम्म निवेदन दिन सक्नेछन् । हालसम्म उक्त परियोजनाबाट सेवा सुविधा नलिएका व्यावसायिक तरकारीखेती गर्ने कृषक, सामूहिक वा चक्लाबन्दीको रूपमा खेती गर्ने समूह, सहकारी र कम्पनीहरूलाई अनुदान वितरणमा प्राथमिकता दिइने कार्यालयले बताएको छ ।
तरकारी जोनमा सूचीकृत भएका कृषक तथा समूह, कृषि सहकारी, कृषि कम्पनी र कृषि फर्महरूले अनुदानका लागि निवेदन दिन सक्ने बताइएको छ । कार्यालयले सबै मेशिनरी सामग्रीमा ५० प्रतिशत अनुदान दिने बताएको छ । यो वर्ष तरकारी जोनका लागि १९३ जनालाई अनुदान दिने लक्ष्य रहेको कार्यालयका एकाइ प्रमुख मेघनाथ तिमिल्सिनाले बताए ।

यसैगरी ५० प्रतिशत अनुदानमा ४० जना किसानलाई साना सिँचाइका मेशिनरी उपकरण वितरण गरिने तिमिल्सिनाले जानकारी दिए । साना सिँचाइ अन्तर्गत सतह, भूमिगत, थोपा तथा फोहोरा सिँचाइका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । साना मेशिनरी उपकरण वितरणका लागि ५२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । यो वर्ष मिनी ट्र्याक्टर, पावर टिलर, पावर स्प्रेयर र ट्र्याक्टरमा जडान हुने सामग्रीका साथै ड्याङ बनाउने तथा बीउ रोप्ने मेशीन वितरण गरिनेछ । यस्तै ५० प्रतिशत अनुदानमा १५० जनालाई साना मेशिनरी उपकरण वितरण गरिने कार्यालयले बताएको छ ।

यो वर्ष दुईओटा कस्टम हायरिङ सेन्टर ९कृषि यन्त्र, उपकरण वितरण केन्द्र० स्थापना गर्ने लक्ष्य कार्यालयको छ । यसका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको तिमिल्सिनाले बताए । कृषकलाई ५० प्रतिशत अनुदानमा मिनी ट्र्याक्टर, पावर टिलर जस्ता उपकरण वितरण गरिने उनको भनाइ छ । यस्तै आधुनिक नर्सरी टनेल निर्माणका लागि कार्यालयले १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*