बम विस्फोटमा प्रहरी निरीक्षक र बाबुछोरासहित तीनजनाको मृत्यु हुने घटना कसरी भयो ?

जनपत्र
२९ मंसिर २०७६, आईतवार ०६:५९

शुक्रबार मध्यराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५ महेन्द्रनगरमा भएको बम विष्फोट घटनाले पुरै धनुषा जिल्ला शोकमा डुबेको छ । घटनामा इलाका प्रहरी कार्यालय महेन्द्रनगर ९धनुषा० का इन्चार्ज प्रहरी निरीक्षक ४५ वर्षीय अमिरकुमार दाहाल, स्थानीय औषधी व्यवसायी ४७ वर्षीय राजेश साह र उनका २३ वर्षीय छोरा आनन्दको मृत्यु भएको छ ।
शुक्रबार राति करिब सवा ११ बजे राजेशकी श्रीमती अञ्जु ओछ्यानबाट उठेर घर बाहिर रहेको शौचालय गइन् । उनले बाहिरको ढोका खोल्दा ह्यान्डलमा एउटा झोला झुन्ड्याइएको थियो । उनले वास्ता नगरी फर्केर ओछ्यानमा पुगिन् । लगत्तै राजेश पनि शौचालय गए । उनले पनि झोलालाई नछोइकनै ढोका खोले र फर्केर बन्द पनि गरिदिए । कोठामा आएपछि श्रीमतीसँग त्यो झोलाको बारेमा कुरा गरे । शंका लाग्यो र छोरा आनन्दलाई उठाए । छोराले विष्फोटक पदार्थ हुन सक्ने आशंका गरे ।

“राति सुत्न जाने बेलासम्म कुनै बस्तु नभएको ठाउँमा मध्यराति बाहिरबाटै आएर कसैले झोला झुन्ड्याएको हुन सक्ने स्पष्ट भइसकेपछि हामी सबै डरायौं,” मृतक राजेशकी श्रीमती अञ्जुले बाह्रखरीसँग भनिन्, “छोरी र अर्को छोरालाई पनि उठाएर हामी सुरक्षित हुन बाहिर निस्क्यौं । सबै बालबच्चालाई लिएर चोकमा औषधी पसल रहेको घरमा पुगेर प्रहरीलाई खबर गर्ने सल्लाह भयो ।”

अञ्जुका अनुसार राजेश र उनका छोरा आनन्द नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेरै घटनाबारे जानकारी गराए । भर्खरै मोबाइल ड्यूटीबाट फर्केर कार्यालय पुगेका इन्स्पेक्टर दाहाल आफुसमेत पाँचजनाको टोली लिएर घटनास्थल पुगे । राजेश र उनको परिवार पनि त्यहाँ पुग्यो । दाहालले ढोकामा झुन्ड्याइएको झोलामा कुनै प्रकारको तार वा अन्य वस्तु जडान भए नभएको हेरे । नजिक पुगेपछि पुरानो कुकर रहेको र त्यो डराउन दिन राखेको हुन सक्ने बताए । त्यो झोला हटाउन पुगेका दाहालसँगै राजेश र उनका छोराछोरी पनि वरिपरी थिए । त्यहीबेला विष्फोट भयो । राजेश र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यु भयो ।

करिब आधा शरीर जलेको अवस्थामा रहेका दाहालको पेटमा छर्रा लागेर बनेको प्वालबाट रगत बग्न थाल्यो । “बम विष्फोट भएको जानकारी पाउनेबित्तिकै म त्यहाँ पुगेको हुँ,” नायव प्रहरी निरीक्षक साहले भने, “घटनामा को को परे भनेर हेर्न गएको त इन्स्पेक्टरसाब आफैँ पनि उठ्नै नसक्ने अवस्थामा पुगिसक्नुभएको रहेछ । उठाएर गाडीमा हाल्न खोजें उहाँको कम्मरमा दुखेको हुनुपर्छ, कम्मरमुनि हात हाल्दिनुस् भन्नुभयो । उहाँको मुखबाट मैले सुनेको अन्तिम वाक्य त्यो नै हुन पुग्यो ।”

नायव प्रहरी निरीक्षक साहले बाह्रखरीसँग घटनावारे पुरै बोल्नै नसकी भक्कानो छाडे । उनीसमेत इलाका प्रहरी कार्यालयका सबै जनशक्ति मानसिक रुपले विक्षिप्त छन् । यता, राजेशकी श्रीमती अञ्जु बेहोस् छिन् । उनका बाबु भिखारी साह र वृद्ध आमाको पनि होस् हराएको छ । राजेशका दुई छोराछोरी उपचारको क्रममा धरानमै छन् । घर, आँगन र वरिपरी ठूलो भीड लागेको छ । छिमेकी घर भएका नगर प्रमुख योगेन्द्र पजियार निशब्द भएका छन् । बाह्रखरीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*