सिद्धबाबालाई पुनः तीन दिनको म्याद थप

जनपत्र
२८ मंसिर २०७६, शनिबार ०७:११

जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन निगरानीमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । आफनै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीको निगरानीमा मोरङको विराटनगरमा उपचार गराइ रहेका बाबालाई प्रहरीले आज जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।

आफूहरुले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेकोमा जिल्ला अदालत सुनसरीले तीन दिनको मात्र म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । थपिएको म्याद समाप्त भएपछि सिद्धबाबाको मिसिल अदालतमा बुझाइने प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

दुई पटक गरेर ११ दिनको म्याद अस्पतालमै गुजारेका सिद्धबाबालाई पछिल्लो पटक तीन दिन म्याद थप गरी पुनः विराट नर्सिङ होममै लगिएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले मिसिल बुझाएपछि कृष्णदास उपरको मुद्दामा थुनछेक बहस शुरु हुने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बलात्कारको आरोपमा पक्राउ इटहरी उपमहानरपालिका–१९ की एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपमहानगरपालिका–२० मा सन साहेव फर्निचर सञ्चालन गर्दै आएका राजेशकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गत जेठमा विराटनगरस्थित अतिथि सदन नजिक एक युवतीलाई बलात्कार गरेर फरार रहेका मेहतालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मेहतालाई बिहीबार पक्राउ गरी मोरङ प्रहरीको जिम्मा लगाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । मेहतालाई जबरजस्ती करणी उद्योग मुद्दामा आज पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*