सरकारी कार्यालयमा विदेशी प्रविधि रोक्दै चीन

जनपत्र
२४ मंसिर २०७६, मंगलवार ०६:०९

चिनियाँ कम्युनिष्ट पार्टीले मुलुकका सबै कार्यालयलाई विदेशी सफ्टवेयर तथा हार्डवेयर हटाउन निर्देशन दिएको छ । फाइनान्सियल टाइम्सका अनुसार चीनले अबको ३ वर्षभित्र उक्त प्रविधि हटाउन निर्देशन दिएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको यो निर्देशनले माइक्रोसफ्ट, एचपी र डेलजस्ता अमेरिकी प्रविधि कम्पनी प्रभावित बन्नेछन् ।

चीनले सन् २०२० मा ३० प्रतिशत, २०२१ मा ५० र २०२२ मा बाँकी २० प्रतिशत विदेशी प्रविधि विस्थापित गरिने योजना अघि सारेको हो । विश्लेषकहरूका अनुसार चीनलाई विदेशी प्रविधि विस्थापित गर्न २ देखि ३ करोडसम्मको विदेशी उपकरण आवश्यक पर्छ । समाचारमा उल्लेख गरिए अनुसार यस वर्षको शुरुआतमै कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले यस्तो निर्देशन दिएको थियो । तर, अहिलेसम्म यो निर्देशन सार्वजनिक भने भएको थिएन ।

आधिकारिकरूपमा भने चिनियाँ कम्युनिष्ट पार्टीले कुनै जानकारी दिएको छैन । यस विषयमा अमेरिकी प्रविधि कम्पनीहरूले पनि आफ्नो धारणा राखेका छैनन् । विश्लेषकहरूले भने चीनको यो निर्णय अमेरिकासँगको व्यापार युद्धबाट बच्ने एक महत्त्वपूर्ण उपायको रूपमा अघि सारिएको हुनसक्ने बताएका छन् । अमेरिकासँगको तनावको कारण सरकारी काममा कुनै किसिमको अवरोध सृजना नहोस् भन्नका लागि सरकारले अमेरिकी प्रविधि हटाउने तरखर गरेको हो ।

अमेरिकासँगको व्यापार युद्धमा अहिले प्रविधिको विषय सबैभन्दा अगाडि देखिएको छ । चिनियाँ प्रविधि कम्पनीले अमेरिकाको दबाबको सामना गरिरहेका छन् । चिनियाँ प्रविधि कम्पनी हुवावेईले अहिले अमेरिकाको प्रतिबन्धको सामना गरिरहेको छ । साथै गत अक्टोबरमा अमेरिकाले चिनियाँ सीसीटीभी कम्पनीहरूलाई पनि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यस्तोमा चीनले ल्याएको निर्णय धेरै हदसम्म अमेरिकालाई लक्षित रहेको बताइएको छ ।

चिनियाँ सरकारी कार्यालयमा धेरैजसो लेनोभोजस्ता चिनियाँ कम्प्युटर प्रयोग हुन्छन् । तर उनीहरूले माइक्रोसफ्ट विन्डोज सफ्टवेयर प्रयोग गर्ने गरेका छन् । साथै उनीहरूको हार्डवेयर डेल वा एचपीजस्ता कम्पनीको हुने गरेका छन् । चीनको यो कदमलाई अमेरिकाले कुन रूपमा हेर्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको विश्व व्यापारका विश्लेषक निक मार्रोले बताएका छन् । विदेशी प्रविधि कम्पनीसँग चीनले लामो समयदेखि पक्षपात गर्दै आइरहेको र अमेरिकालाई पनि यो कुरा थाहा भएको उनको भनाइ छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*