१२ वर्षदेखि बन्द कागज उद्योग पुनः सञ्चालन

जनपत्र
२३ मंसिर २०७६, सोमबार ०६:३०

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४, छिनखेतमा रहेको नेपाली कागज उद्योग पुनः सञ्चालन भएको छ । १२ वर्षअघि कच्चापदार्थ लोक्ताको अभावमा बन्द भएको सो उद्योग स्थानीय युवानको लगानीमा पुनः सञ्चालन भएको हो ।

बाँफिकोट गाउँपालिका–४ कै स्थानीय धीरेन्द्रकुमार शाही, गणेशकुमार चन्द र सिन्धुपाल्चोकका राजेश श्रेष्ठले झन्डै १२ लाख रुपैयाँ लगानी गरेर रुकुमेली नेपाली हाते कागज उद्योग सञ्चालन गरेका छन् । उद्योगले दुई सातादेखि धमाधम हाते कागज उत्पादन गर्दै आएको छ । हाते कागजमा प्रयोग हुने लोक्ता सकिएको भन्दै २०६४ सालमा उद्योग बन्द भएको थियो ।

यसअघि एन एन्ड आर नेपाली हाते कागज उद्योगको नामबाट उद्योग सञ्चालन भएको थियो । उद्योगले हरेक दिन २५० देखि ३ सय थानसम्म नेपाली कागज उत्पादन गर्दै आएको उद्योगका सञ्चालक धीरेन्द्रकुमार शाहीले बताए । उनले भने, ‘स्थानीय जंगलमा खेर गएको कच्चापदार्थको सदुपयोग गर्ने उद्देश्यले उद्योग पुनः सञ्चालन गरिएको हो ।’

बाँफिकोटका ६, ७ र ८ नम्बर वडाको जंगलमा मुख्य कच्चा पदार्थ पाइन्छ । उद्योगबाट हरेक दिन ८० किलो लोक्ताको कागज उत्पादन भइरहेको छ । उद्योगले हरेक दिन १० देखि ४० ग्रामसम्मको नेपाली हाते कागज उत्पादन गरिरहेको जानकारी दिएको छ । शुरूमा उत्पादन भएका कागज बजार पठाइएको छैन ।

डिभिजन वन कार्यालयबाट छोडपुर्जी लिएर उत्पादित कागजलाई सोझै काठमाडौं पठाउने तयारी भइरहेको उद्योगका सञ्चालक शाहीले बताए । उद्योगमै प्रतिग्रामको १ रुपैयाँका दरमा कागज विक्री गरिने बताइएको छ । उद्योग सञ्चालक गणेशकुमार चन्दले भने, ‘यसपटक दिगो हिसाबबाट उद्योग चलाउने गरी योजना बनाइएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*