मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी

जनपत्र
१८ मंसिर २०७६, बुधबार ०८:४३

हेटौंडा । सरकारले विवाह गर्न महिलालाई कम्तीमा २० वर्ष पुग्नुपर्ने तोके पनि मकवानपुरका ग्रामीण क्षेत्रमा कम उमेरमै विवाह हुँदै आएको छ । मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका ५, ६ कक्षामा पढ्ने अधिकांश बालिका कम उमेरमै विवाह गर्न बाध्य छन् । त्यति मात्र होइन, पहिलोपटक रजस्वला हुनासाथ गर्भवती बन्नुपर्ने उनीहरूको बाध्यता छ । त्यसो त मकवानपुरको विकट गाउँकी गंगामाया चेपाङ गत वर्ष १२ वर्षकै उमेरमा आमा बनेकी थिइन् । मकवानपुरको विकट गाउँमा रहेका चेपाङ र तामाङ बस्तीमा अहिले बालविवाह गर्ने र किशोरी हुनासाथ सुत्केरी हुनेको कमी छैन ।

राक्सिराङ गाउँपालिका–७ दामराङस्थित आधारभूत विद्यालयमा २४ वर्षदेखि अध्यापनरत कपिलदेव ठाकुरले भने, ‘पहिले २, ३ कक्षामा पढ्ने विद्यार्थी विवाह गर्थे, अहिले ५,६ कक्षासम्म पढ्न थालेका छन् । मैले पढाएका धेरै विद्यार्थी किशोरी अवस्थामै आमा बनेका छन् ।’ ठाकुरले नै पढाएकी सुस्मिता चेपाङले गाउँमै भागी विवाह गरिन् ।

२५ वर्ष पुगेकी सुस्मिताको जेठो छोरा सोही विद्यालयमा पाँच कक्षामा पढ्ने उमेर हुँदा उनी दुई छोरा र एक छोरीकी आमा बनेकी छिन् । ‘हाम्रोतिर यस्तै चलन छ,’ सुस्मिताले नयाँ पत्रिकासँग भनिन्, ‘स्कुल पढ्दापढ्दै अधिकांश भागी र मागी विवाह गर्छन् । विवाह गरेपछि घरधन्दा, सन्तान जन्माउने र दैनिक हातमुख जोर्नकै लागि समय खर्चिँदा नै जीवन बित्ने भो ।’ सुस्मिताकै साथी लसिता चेपाङको पनि पीडा उस्तै छ । दुई बच्चाकी आमा उनले पनि पढ्दापढ्दै विवाह गरिन् । अहिले उनको शारीरिक अवस्था निकै कमजोर छ ।

दिँदैनन् कानुनी ज्ञान, हुँदैन कारबाही

चेपाङ बस्तीमा देखिएको बालविवाहको कारण परम्परागत चलन भएको गाउँका बुद्धिजीवीको ठम्याइ छ । दुर्गममा कोही आएर कानुनी ज्ञान नदिने र कानुन मिच्नेलाई कारबाही पनि नहुने शिक्षक कपिलदेव ठाकुरले बताए । ‘केही वर्षअघि कक्षाकोठा खाली हुने गरी बालविवाह हुने गरेको थियो,’ पुराना दिन सम्झँदै उनले भने, ‘अहिले त्यस्तो अवस्थामा धेरै न्यूनीकरण भएको छ ।

शिक्षक ठाकुरले कक्षा ६ मा चारजना किशोरीको विवाह भएको जानकारी दिए । कानुनी ज्ञानका कुरा दुर्गम क्षेत्रमा पुग्दै नपुग्ने भएकाले बालविवाहको समस्या समाधान गर्न स्थानीय सरकारलाई ठूलो चुनौती देखा परेको राक्सिराङ गाउँपालिका ७ का वडाध्यक्ष कुलबहादुर चेपाङले बताए ।

गरिबी मुख्य कारण

चेपाङ समुदायमा सानै उमेरमा विवाह गर्नुको एउटा मुख्य कारण गरिबी भएको बताइन्छ । विवाह गरिदिएपछि व्ययभार कम हुने भएकाले अभिभाकहरूले छिट्टै विवाह गरिदिने गरेको राक्सिराङ गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर चेपाङले बताए । बालविवाहमा पहिलाभन्दा धेरै कमी आएको उनको दाबी छ । ‘चेपाङ र तामाङ समुदाय गरिबीमै सीमित छन्,’ वडाध्यक्ष चेपाङले भने, ‘उनीहरू सन्तान पालनपोषण गर्ने अवस्थामा समेत नहुँदा यो स्थिति शून्य हुन नसकेको हो ।’

विवाह बदर गर्न सम्भव छैन – गाउँपालिका अध्यक्ष

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विवाह बदर गर्न सम्भव नरहेको बताए । उनले गाउँपालिकाले हालसम्म विवाह बदर गर्ने कानुन कार्यान्वयनमा नल्याएको भन्दै गाउँ समुदायमा सम्भव नरहेको प्रतिक्रिया दिए । स्थानीय सरकारको तर्फबाट विभिन्न सफ्टवेयरका कार्यक्रम सञ्चालन गरिए पनि कानुनी कारबाही भने नभएको उनको भनाइ छ । ‘उमेर नपुगेका जोडीको विवाह दर्ता गर्ने गरेका छैनौँ,’ अध्यक्ष मल्लले भने । आजको नयाँ पत्रिका दैनिकमा सुदीप शिवाकोटीले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*