इतिहास रच्ने तयारीमा सावित्रा
पोखरा रंगशालामा मंगलबार साग फुटबल अन्तर्गत नेपाली महिला टोलीले श्रीलंकाको सामना गर्दा धेरैको ध्यान नेपाली टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी, साम्बाले खिच्नेछिन।
सावित्राले देशका लागि सबैभन्दा बढी गोल गर्ने कीर्तिमान कायम गर्दै इतिहास रच्ने संघारमा छिन। सावित्राको हालको गोलसंख्या पुर्व कप्तान अनु लामाले राखेको ३५ गोलको सर्वाधिक गोलको कीर्तिमानको बराबरीमा छ। श्रीलंकाविरुद्धको एक गोलले मात्रै उनलाई नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पुर्याउनेछ।
सावित्रा भने आफूले सर्वाधिक गोलको कीर्तिमान राख्नुमात्रै लक्ष्य नभएको बताउँछिन। ‘आफ्नो लक्ष्य अझै टाढा भएको उनले बताइन्। मैले अनु लामा दिदीको कीर्तिमान बराबरी गरिसकेँ। अब एक गोलले मात्रै त्यो कीर्तिमान भंग हुन्छ, उक्त कीर्तिमान तोड्नेमा ढुक्क देखिएकी सावित्राले भनिन्, ‘त्यो कीर्तिमान भंग गर्नुमात्रै मेरो लक्ष्य हैन। मेरो लक्ष्य अझै लामो छ। देशका लागि उपाधि जिताउँनु मेरो लक्ष्य हुनेछ।’







