रोल्पामा चिनियाँ मलको परीक्षण प्रयोग

जनपत्र
१७ मंसिर २०७६, मंगलवार ०६:१२

रोल्पा नगरपालिका–७, माडीचौरमा चिनियाँ कम्पनी खुन्हा एक्सपोर्ट इमपोर्टबाट उत्पादित मल परीक्षणको अनुगमन गरिएको छ । गतसाता कम्पनीको प्रतिनिधि लगायत सरोकारवाला निकायले अनुगमन गरेका हुन् । अन्य कम्पनीको रासायनिक मलको प्रयोगबाट माटोको उर्बर शक्ति ह्रास हुने गरेकोमा उक्त कम्पनीको मल प्रयोगबाट माटोको उर्बर शक्ति वृद्धि हुने अपेक्षा गरिएको छ ।

नेपाल सरकारको स्वीकृतिमा चिनियाँ कम्पनीको रासायनिक मलको परीक्षण गरिएको कृषक त्रिपनी घर्तीमगरले बताए । रासायनिक मल प्रयोग भएका बारीहरूमा माटोको उर्बर शक्ति ह्राससँगै माटो अवस्था बिग्रिएको छ । चिनियाँ कम्पनीबाट उत्पासदत रासायनिक मलको प्रयोगबाट माटो र बिरुवालाई अहिले धेरै राम्रो भएको घर्तीमगरको धारणा छ ।

उनकै पहलमा माडीचौरका कृषकले हिउँदे बाली गहुँ, फूलगोपी, बन्दागोपी, आलु, तोरी लगायतका बालीमा चिनियाँ मल प्रयोग गरेका छन् । अन्य कम्पनीबाट उत्पादित मलको प्रयोगभन्दा चिनियाँ मलले बालीलाई राम्रो गर्नुका साथै माटो समेत खुकुलो बनेको उनको दाबी छ ।

अनुगमनमा क्रममा कृषकले उत्पादन कस्तो होला भन्ने विज्ञसँग प्रश्न गरेका थिए । यो मलको प्रयोगको परिणाम राम्रो आएमा जिल्लामा माग बढ्ने कृषकको अनुमान छ । चिनियाँ कम्पनीले नेपालको विभिन्न ठाउँको माटो ५ वर्षसम्म अध्ययन तथा अनुसन्धान गरी मल उत्पादन गरेको कम्पनीका प्रतिनिधि जिग मिले बताए । यो मलको प्रयोगबाट पर्याप्त तरकारी उत्पादन भएको खण्डमा कम्पनीले नै बजारीकरणको व्यवस्था गर्ने समेत मिको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*