देशका विभिन्न ५२ स्थानमा आज उपचुनाव हुँदै
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि शनिबार उपचुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र पालिकाका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उपचुनावमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।
कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?
प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(१), बागलुङ २(२), दाङ ३(२ मा पनि छ र ती पद पूर्तिका लागि आज उपनिर्वाचन हुँदैछ ।
स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ ।






