चिकित्सकहरुले निकाले ७.४ किलोको मिर्गौला
भारतीय चिकित्सकहरुले एक ५६ वर्षीय बिरामीको शरीरबाट ७।४ किलो बराबर तौलको मिर्गौला निकालेका छन् । सो तौल दुई भर्खर जन्मिएका शिशु बराबर हुन्छ । यो मिर्गौला भारतमा खबर गरिएको हालसम्मकै ठूलो भएको बताइएको छ । कुनैपनि व्यक्तिको साधारण मिर्गौला १२० देखि १५० ग्राम सम्मको हुन्छ ।
यस घटनामा बिरामी ‘अटोसोमल डोमिनेन्ट पोलीसाइस्टिक किड्नी डिजिज’ नामक रोगले ग्रसित थिए जसमा कुनैपनि अङ्गभरि सिस्ट उम्रि बढ्न थाल्छ । यो रोग भएका बिरामीमा यति ठूलो मिर्गौला हुनु स्वभाविक भएतापनि शल्यक्रियापछि सबै आश्चर्यमा परेको एक सम्बन्धित डाक्टरले बताएका हुन् । तरपनि यस किसिमका घटनामा डाक्टरले बिरामीको अङ्ग भने ननिकाल्ने गरेको दिल्लीस्थित डाक्टर सचित कथुरियाले बताए । उनका अनुसार गम्भीर संक्रमण वा इन्टर्नल ब्लिडिङ नहुँदासम्म शरीरको अङ्ग निकालिँदैन ।
उनले थप भने, “यी बिरामी नराम्रोसँग संक्रमणको शिकार भइसकेका थिए र एन्टिबायोटिकले पनि काम गर्न छाडिसकेको थियो भने ठूलो आकारको मृगौलाले तिनलाई सास फेर्नमा कठिन भइरहेको थियो । यसकारण हामीसँग त्यसलाई निकाल्नु बाहेक कुनै विकल्प थिएन ।” डाक्टर कथुरियाका अनुसार उनीहरुले शल्यक्रिया गर्दैगर्दा संक्रमित मृगौलाको आकार ठूलो हुने अपेक्षा गरेका थिए तरपनि यति ठूलो तौल उनीहरुले अनौठो मानेका हुन् । उनले बीबीसीसँग भने, “उनको अर्को मिर्गौला झन ठूलो छ । ”
उनका अनुसार गिनिज बुक अफ रेकर्डमा दर्ता भएको विश्वको सबैभन्दा ठूलो किड्नी ४।५ किलोको रहेको छ तरपनि थुप्रैपटक त्यो भन्दा धेरै ठूला मृगोला फेला परेको खबर आइसकेका छन् । जसमध्ये अमेरिकामा एकपटक ९ केजीको पत्ता लागेको थियो भने नेदरल्यान्डमा पनि ८।७ किलोको मिर्गौला भेटिएको थियो ।
आधिकारिक जानकारी अनुसार पोलिसिस्टिक किड्नी वंशाणुगत अवस्था हो जुन विशेषगरी ३० देखि ६० वर्षका मानिसमा देखा पर्ने गरेको छ । यसले मृगौलाको काममा अवरोध पुर्याउन सुरु गर्छ र अन्तिम स्टेजसम्म पुग्दा किड्नी फेल हुने गर्दछ । बिबिससीबाट







