अमेजोनमा रुखहरुको सङ्ख्या एक दशककै कम

जनपत्र
५ मंसिर २०७६, बिहीबार ०६:३१

विश्वको सबैभन्दा ठूलो वनक्षेत्र अमेजोनमा हालसम्मकै कम रुखहरुको नयाँ रेकर्ड बनेको छ । एक दशकमा वन फडानीको स्तर अहिले जतिको उच्च कहिल्यै नभएको सोमबार सार्वजानिक सरकारी डाटाले उल्लेख गरेको हो । ब्राजिलियन सरकारले सार्वजानिक गरेको डाटाका अनुसार ब्राजिलको नौवटै स्टेटमा रहेका अमेजोन क्षेत्रमा वन फडानी, ११ वर्षकै उच्च दरमा पुगेको छ । यस सम्बन्धी सम्पूर्ण जानकारी अन्तरिक्ष अमेजोन निरीक्षण परियोजना अन्र्तगत संकलन गरिएको थियो ।

यसरी २०१९ मा गत जुलाईपछि मात्र ९ हजार वर्ग किलोमिटर भन्दा धेरै वन क्षेत्र नष्ट भएका हुन् । राष्ट्रिय अन्तरिक्ष अनुसन्धान संगठनले सार्वजानिक गरेको यस डाटामा अघिल्लो वर्षको तुलनामा वन विनाश २९।५ प्रतिशतले वृद्धि भएको बताइएको छ । सो तथ्याङ्क २००८ पछिकै सबैभन्दा उच्च हो । २०१८ अक्टोबरमा निर्वाचित राष्ट्रपति जेर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको अमेजोन क्षेत्रमा लगातार नोक्सान पुगेको खबर आएपछि अन्तर्राष्ट्रिय समुदायले धेरैपटक उनको विरोध गरिसकेको छ । उनीमाथि वन क्षेत्र वरपरका नागरिकहरुलाई फडानी गर्न प्रोत्साहन गरेको र गैरवातावरणीय नीति अपनाएको आरोप लगाइँदै आएको छ । यति मात्र नभएर फान्समा सम्पन्न जी–सेभेन सम्मेलनमा अमेजोनको आगलागी नियन्त्रणका लागि प्रस्ताव गरिएको २ करोड डलरको सहयोग अस्वीकार गरेकामा पनि उनी आलोचित भएका छन् ।

ब्राजिलका वातावरण मन्त्री रिकार्डो सेल्सले यसबारे पत्रकार सम्मेलनमा भनेका हुन्, “वन फडानीको तथ्याङ्क हामीले चाहेको भन्दा धेरै माथि पुगिसकेको छ तरपनि तीन अंकसम्म नपुगेको रिपोर्टमा देखिएको छ । ” सेल्सका अनुसार जीवजन्तुहरुलाई अनियन्त्रित रुपमा र्चन छाडिदिने, बढ्दो कृषिका गतिविधि, काठ तस्करी लगायत अवैध क्रियाकलापहरुका कारण वन फडानीको स्तर एक्कासी बढेको हो । त्यसैले यस क्रमलाई रोक्न ब्राजिलको अमेजोन क्षेत्रलाई दिर्गकालीन आर्थिक विकल्पको आवश्यकता रहेको पनि उनले बताएका हुन् । ब्राजिलको स्पेस रिसर्च एजेन्सी यसैबारे छलफल गर्न बुधबार बैठक बस्ने बताइएको छ । केही महिना अगाडि मात्र पृथ्वीको फोक्सो मानिने अमेजोनमा हप्तौँसम्म लागतार आगलागी भएपछि सो घटनाले विश्वभरको ध्यानाकर्षण गराएको थियो ।
सिएनएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*