आलमलाई कारागार चलान गरिएलगत्तै सुरक्षा थ्रेट देखाउँदै न्यायाधिवक्ता कटवालको सरुवा

काँग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिए लगत्तै जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका न्यायाधिवक्ता खडिन्द्रराज कटवाल सरुवा भएका छन् । न्यायाधिवक्ता कट्वाललाई सुरक्षा थ्रेट रहेको भन्दै मकवानपुर सरुवा गरिएको हो ।
पूर्वमन्त्री समेत रहेका आलम रौतहट बम बिस्फोटको घटनामा सहभागी भएको आरोपमा पुर्पक्षका लागि कारगार चलान गरिएको हो । आलममाथि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँट्टाभट्टामा जलाएर मारिएको आरोप लागेको छ । सो घटनामा १३ जनालाई जिउँदै जलाएर मारेको आरोप आलममाथि लागेको छ ।
रौतहटको राजपुर–४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका पीडितले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । तर, प्रहरीले आलमबिरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकहरुले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
सर्वोच्च अदालतको आदेशलगत्तै असोज अन्तिम साता प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको थियो । केही दिनअघिमात्र आलमको पक्ष र विपक्षमा थुनछेक बहस भएको थियो । त्यसलगत्तै अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । रातोपाटीबाट