मान्छेले एक वर्षमा कति प्लास्टिक निल्छ ?
खाना, हावा र पानी मार्फत प्लास्टिकका टुक्रा निल्नुले स्वास्थ्यमा कस्तो समस्या पर्छ भन्ने अझै पत्ता लागेको छैन । तर औसतमा एक मानिसले वार्षिक ५० हजार प्लास्टिकका सुक्ष्म टुक्रा, ‘माइक्रो–प्लाष्टिक’ निल्ने गरेको नयाँ अध्ययनले देखाएको छ ।
यसमा वास्तविक सङ्ख्या यो भन्दा धेरै गुणा बढी हुने सम्भावना रहेको बताइएको छ किनकी यस जाँचमा केही खाद्य पदार्थ र ड्रिङ्कहरुमाथि मात्र अनुसन्धान गरिएको थियो । विशेषगरी प्लास्टिकको बोतलबाट पानी पिउँदा हामीले बढी प्लाष्टिक सेवन गरिरहेको वैज्ञानिकहरुको भनाइ छ । यसरी प्लास्टिकले हाम्रो शरीरमा पुर्याउन सक्ने क्षतिबारे वैज्ञानिक जानकारी प्राप्त भइसकेको छैन तर तिनले विषाक्त पदार्थहरु निस्कासन गर्न सक्छन् । यस्तोमा केही अति सुक्ष्म टुक्राहरु हाम्रो टिस्युसम्म पुगेर शारीरिक प्रणालीमा ठूलो खतरा उत्पन्न गर्न सक्छन् ।
‘माइक्रोप्लास्टिक’ प्रदुषण प्लास्टिजन्य फोहोरहरु टुक्रिएर उत्पन्न हुने गर्दछ र विश्वभर सर्वत्र रुपमा पाइन्छ । अनुसन्धानकर्ताहरुले यसको जता खोजी गर्यो त्यहीँ – हावा, माटो, खोला लगायत समुद्रको सबैभन्दा गहिराइमा समेत प्लास्टिक भेटाएका छन् । त्यस्तै धारा र बोतलका पानी, समुद्री खाना र बियरमा पनि सुक्ष्म प्लाष्टिकका टुक्रा फेला परिसकेको छ । गत अक्टोबरमा मात्र मानिसको दिशाको स्याम्पलमा समेत पहिलोपटक सुक्ष्म प्लास्टिकका टुक्रा भेटिएको थियो जसले पनि हामीले दैनिक जीवनमा प्लास्टिक निल्ने गरेको पुष्टि गरेको हो ।
जर्नल ‘इन्भारोमेन्टल साइन्स एण्ड टेक्नोलोजी’ मा प्रकाशित नयाँ अनुसन्धानमा माछा, चिनी, नुन, बियर, पानी लगायत हावामा प्लास्टिकका कण मापन गर्न विगत्का २६ अध्ययनका डाटा संकलन गरिएको थियो । यसपछि वैज्ञानिकहरुले मानिसले प्रत्येक वर्ष कति मात्रामा प्लास्टिक निल्छन् भन्ने हिसाब गर्न अमेरिकी सरकारको आहार सम्बन्धी दिशा–निर्देशन को प्रयोग गरेका हुन् । यसमा वयश्कहरुले प्रतिवर्ष औसतमा ५० हजार अधिक माइक्रोप्लाष्टिक र बालबालिकाले पनि ४० हजार सुक्ष्म प्लाष्टिकका टुक्रा निल्ने गरेको उनीहरुले आंकलन गरेका हुन् । तर यसमा अझै विभिन्न प्रकारका खानाहरुमाथि परीक्षण गरिएको छैन । जस्तै ब्रेड, प्रोसेस गरिएका खाद्य उत्पादन, मासु, डेरीका उत्पादन र सागसब्जीमा पनि उत्तिकै प्लाष्टिक हुन सक्ने क्यानडासिथत युनिभर्सिटी अफ भिक्टोरियाका रिसर्च प्रमुख किएरन कक्सले बताए । उनका अनुसार यी खानेकुरामा सयदेखि हजारौँ सङ्ख्यामा प्लाष्टिक हुने सम्भावना अधिक छ । अध्ययनले भने १५ प्रतिशत सेवनको मात्र जाँच गरेको हो । यस्तोमा माइक्रोप्लाष्टिक सेवनको मात्रा अझ धेरै हुने बताइएको हो ।
पानी सम्बन्धी उपलबध सबैभन्दा उचित डाटामा उल्लेख गरिएको छ कि बोतलको पानीमा धाराको पानी भन्दा २२ गुणा बढी प्लाष्टिक हुने गर्दछ । यस्तोमा बोतलको पानी पिउने व्यक्तिले यो श्रोतबाट मात्र वर्षमा १ लाख ३० हजार प्लाष्टिकका टुक्रा निलिरहेको हुन्छ । यता धाराको पानीमा भने चार हजारसम्म माइक्रोप्लाष्टिक हृुने गर्दछ ।
तर यसरी माइक्रोप्लाष्टिक निल्दा मुख्यगरी केमा असर पर्छ भन्ने वैज्ञानिकहरुले अझै पत्ता लगाइसकेका छनन् । विश्लेषकहरुको भनाइ अनुसार अधिकांश टुक्राहरु हामीले हाछ्युँ गर्दा वा खोक्दा निस्किदैनन् र भित्रै सोसिने गर्दछन् । यसका साथै हामीले प्रतिदिन सेवन गर्ने दैनिकको खानामा पनि कहिँ न कहिँ प्लाष्टिक हुने गरेको बताइएको छ जसको हिसाब गरिएमा अझ हजारौँ टुक्रा थपिनेछ ।
यसरी अनियन्त्रित प्लाष्टिक प्रदुषण अपरिवर्तनीय हुने र दिर्गकालीन असर गर्न सक्ने वैज्ञानिकहरुको निष्कर्ष छ । यस्तोमा हामीले विभिन्न श्रोतमार्फत दैनिक सेवन गरिरहेको प्लािष्टकको मात्रा चिन्ताजनक भएको उनीहरुले चेतावनी दिएका छन् । अनुसन्धानपछि कक्सले आफ्नो व्यवहारमा समेत परिवर्तन ल्याएको बताए र उनी अब प्याकेज गरिएका अनि बोतलको पानी सेवन गर्नबाट सकेसम्म जोगिने प्रयास गर्ने र अरुलाई पनि त्यसै गर्न सुझाव दिने गरेको बताएका हुन् । द गार्जियनबाट