तीन महिनामा १८४ नेपालीको शव विदेशबाट ल्याइयो

वितेको तीन महिनामा १८४ जना नेपालीको विभिन्न देशमा मृत्यू भएको छ । तीमध्ये १७१ जना मृतकका परिवारलाई वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति दिएको छ । गत साउनदेखि असोज मसान्तसम्ममा १८४ जना कामदारको विमानस्थल आएको र शब ढुवानीको व्यवस्था बोर्डले गरेको कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।
बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषबाट मृतकका परिवारलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिन्छ भने बीमा बापतको रकम प्राप्त गर्न पनि सघाउँछ । कल्याणकारी कोष र आवधिक जीवन बीमा प्रक्रिया पुर्याएर गएका कामदारको मृत्यु भएमा कामदारको परिवारले १७ लाखसम्म क्षतिपूर्ति पाउन सक्छन् । आर्थिक वर्ष २०७५/७६ मा वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली कामदारको विदेशमा मृत्यु भएको थियो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मात्रै एक वर्षका बीचमा ७ सय ५३ जना मृतक कामदारका परिवारलाई क्षतिपूर्ति दिलाएको थियो । अवैधानिक रुपमा गएर मृत्यु हुने कामदारको परिवारले यस्तो क्षतिपूर्ति पाउन सक्दैनन् ।
तथ्यांकलाई केलाउँदा दैनिक औसत २ जना नेपाली कामदारको शब नेपाल भित्रिरहेको छ । यसमा विद्यार्थी भिसामा गएर ज्यान गुमाउनेहरुको तथ्यांक जोडिएको छैन । विदेशमा ज्यान गुमाएर फर्किने नेपालीहरुमा बहुसंख्यक तराई तथा पूर्वी, मध्य र पश्चिम पहाडी जिल्लाका युवा छन् । ताप्लेजुङ, पाँचथर, इलाम, सर्लाही, महोत्तरी, मोरङ, सर्लाही, सप्तरी, सुनसरी, सिराहा रुपन्देही, नवलपरासी, खोटाङ, गुल्मी, नवलपरासी, रोल्पा लगायतका जिल्लाका कामदारहरुले विदेशमा बढी ज्यान गुमाएको बोर्डको तथ्यांकले देखाउँछ ।
अनलाईनखबरबाट