मकवानपुरका निर्माण व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हेटौँडा । नेपाल निर्माण व्यवसायी संघ मकवानपुरले आफ्नो माग पुरा नभए निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ । संघका अध्यक्ष श्यामसुन्दर ढकालसहितको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीमार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
ज्ञापनपत्रमा २०७६/०४/१६ गतेको नेपाल राजपत्रमा तेस्रो पटक संशोधन गरी प्रकाशित सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ को विभिन्न प्रावधानले व्यवसाय गर्नै नसक्ने अवस्था आउने भन्दै ति प्रावधानहरु ७ दिन भित्र संशोधन खारेज तथा नयाँ प्रावधान लागु गर्न माग गरिएको छ । माग पुरा नभए सार्वजनिक खरिद अनुगमन कार्यालय, सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग लगायतका नेपाल सरकारका सम्बन्धित् निकायहरुमा धर्ना दिने, घेराउ गर्ने, तालाबन्दी गर्ने जनाईएको छ ।
संघले हेभी यन्त्र उपकरण सडकमा राख्ने, निर्माण कार्यहरु ठप्प राख्ने, टेण्डर बहिष्कार गर्ने, निर्माण व्यवसायीहरुको इजाजत–पत्र समेत सरकारलाई बुझाउने लगायतका विविध विरोधका कार्यक्रम चरणबद्ध रुपमा संचालन गर्न यस संघ बाध्य हुने व्यहोरा समेत जानकारी दिएको छ ।