घर-घरमा पुगेर मधेसी दलको भण्डाफोर गर्न सिके राउतको निर्देशन

जनपत्र
२७ कार्तिक २०७६, बुधबार ०६:३४

जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले मधेसीको नाममा काम नगरी ‘राज गरिरहेका’ मधेसी दलहरुको भण्डाफोर गर्नका लागि जनताको घरघरमा पुग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

पार्टीले नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रिया तथा कार्यकर्ता भेटघाटमा अध्यक्ष डा। राउतले वर्षौदेखि मधेसीको नाममा ब्रम्हलुट गरिरहेका मधेसी नेताहरुको भण्डाफोर गर्दै आगामी निर्वाचनमा उनीहरुलाई पराजित हुने वातावरण बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।

‘मधेसी दलको नाममा मधेसका छोटे राजाहरुले ब्रम्हलुट मच्चाएका छन्। जनमत पार्टीले जनताको घरघरमा पुगेर त्यसको भण्डाफोर गर्नुपर्छ। हामीले काम गरेर देखाउनु पर्छ। आगामी चुनावमा उनीहरुलाई पराजित गर्नुपर्छ, डा। राउतले भने, तपाईहरु जनताको घरघरमा पुग्नुस्।’

डा। राउतले विगतमा मधेसी दलहरुसँग भएको सम्झौताहरु पूरा गर्नुपर्ने उल्लेख गर्दै नेपाली सेनालाई राष्ट्रियकरण गर्नका लागि मधेसीको सामुहिक प्रवेश हुनुपर्ने बताए। उनले मधेसीको दुश्मन मधेसी नै रहेको बताए। बाँकेका आफ्ना कार्यकर्ता राममनोहरको हत्या उपेन्द्र यादवले गराएको डा। राउतको भनाई थियो।

डा। राउत मंसीर ७ गते काठमाडौंमा हुने रंगभेद विरुद्धको आम सभाको तयारी अन्तर्गत जिल्लाव्यापी दौडाहामा निस्केका छन्। बाँकेको अन्तरक्रिया तथा कार्यकर्ता भेटघाटलाई केन्द्रीय सदस्य अब्दुल खान र केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज इरफान अहमद शेषले पनि मन्तव्‍य राखेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*