आलमको पक्षमा बहस जारी, अझै एकहप्तासम्म चल्ने सम्भावना

रौतहट, राजपुर बमकाण्डका अभियुक्त अफताव आलमलाई थुना बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै उनको पक्षबाट जारी रहेको बहस अझै एक हप्तासम्म चल्ने सम्भावना देखिएको छ ।
गत असोज २६ गते नै पक्राउ परेका उनीविरुद्ध कात्तिक १८ गते जिल्ला अदालत रौतहटमा तीनवटा मुद्दा दर्ता भयो । ज्यान मार्ने कसुर, कर्तव्य ज्यान तथा विष्फोटक पदार्थ सम्बन्धी ती मुद्दाहरुको पक्षमा नेपाल सरकारकातर्फबाट कैद तथा दण्ड सजाय दावी भएपछि सोमबारदेखि आलम पक्षका वकिलहरुले बहस थालेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखा इन्चार्ज इन्स्पेक्टर पप्पु नायकका अनुसार सोमबार तीन र मंगलबार पाँच गरि अहिलेसम्म जम्मा आठजना वकिलले आलमको पक्षमा बहस सकेका छन् । जिल्लामा उपलब्ध करिब सबै र काठमाडौंबाट बोलाइएका समेत ३९ जना वकिललाई आलमले आफ्नोतर्फबाट बहस गर्न नियुक्त गरेको नायकले जानकारी दिए । ूयहीँ रफ्तारमा बहस भइरहने हो भने करिब एक हप्ता अझै बहस लम्बिने देखिन्छ, नायकले भने ।
यसबीच आलमका आफन्त तथा सहयोगीहरुले उनीविरुद्ध साक्षी बक्ने तथा जाहेरी दर्ता गराउनेहरु विरुद्ध निरन्तर दबाब धाकधम्की दिने काम जारी राखेका छन् । सोही दबाब तथा प्रभावको कारण गत शुक्रबार बम विस्फोट घटनामा मारिएका भनिएको ओसी अख्तरकी श्रीमती अमना खातुनले मुद्दा होस्टाइल गराउने प्रकृतिको निवेदन लिएर अदालत पुगिन् ।
सोमबार भारत बिहारका एक साक्षीले पनि त्यस्तै प्रकृतिको निवेदन अदालत पुर्याएका छन् । उनीहरुले हस्ताक्षर गरेको निवेदनमा आलमलाई बचाउने गरी भाषा उल्लेख भए पनि बाहिर आएपछि जबरजस्ती निवेदनमा सही गर्न लगाइएको र आलमविरुद्ध नबोल्न दबाब परेको सञ्चारमाध्यम समक्ष बताएका हुन् ।
बाह्रखरीबाट