‘बुलबुल’को असर नेपालमा पनि पर्न सक्ने

आउँदो बुधबारदेखि पश्चिम नेपालमा ‘फिबल वेस्टर्न डिस्टर्बेन्स’को असर देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव पश्चिमी नेपालतर्फ बढिरहेकोले बुधबारदेखि केहीदिन त्यसतर्फको मौसम गडबड हुन सक्ने मौसमविद् शान्ति कँडेलले बाह्रखरीलाई जानकारी गराइन् । मौसम बदली हुने र हिमपातको समेत सम्भावना रहेकोले सतर्कताका लागि सूचित गरिएको उनले जनाइन् ।
आगामी तीनदिन देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । बुलबुलले १३ को ज्यान लियो बीबीसीका अनुसार भारत र बंगलादेशमा आएको चक्रवात बुलबुलले अहिलेसम्म १३ जनाको मृत्यु हुनुका साथै २० लाख मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको छ । चक्रवातले दर्जनौं मानिसलाई घाइते बनाउनुका साथै हजारौं घरमा क्षति गराएको छ ।
सो चक्रवात १२० किमी प्रति घण्टाको दरमा आएको थियो । बंगलादेशमा ६ जना मध्ये ५ जनाको रुखले किचेर मृत्यु भएको छ । भारतको पश्चिम बंगालमा ७ जनाको सो चक्रवातका कारण मृत्यु भएको अधिकारीहरुले बताएका छन् । अहिले सो चक्रवात कमजोर भएको जनाइएको छ ।