प्रदेश–३ को ‘उत्पादन प्रोफाइल’ तयार

प्रदेशमा औद्योगिक, कृषि, वन, खनिजश्रोत, जलस्रोत र प्राकृतिक सुन्दरता तथा व्यापारिक केन्द्र र सांस्कृति, धार्मिक र पुरातात्विक महत्वको स्थलको रुपमा हेरिएको छ।
जनपत्र
२१ कार्तिक २०७६, बिहीबार ०९:२४

हेटौंडा । हिमाल, पहाड र तराइ क्षेत्र ओगटेको प्रदेश ३ लाई रसुवा र तातोपानी नाकाबाट चीनको बेल्ट एण्ड रोड आर्थिक करिडोर विकास हुँदै गएकाले विश्वबजारको प्रदेशद्वारका रुपमा अध्ययनमा उल्लेख गरिएको छ।

यो प्रदेशमा औद्योगिक, कृषि, वन, खनिजश्रोत, जलस्रोत र प्राकृतिक सुन्दरता तथा व्यापारिक केन्द्र र सांस्कृति, धार्मिक र पुरातात्विक महत्वको स्थलको रुपमा हेरिएको छ।

यस प्रदेशमा कृषिजन्य वस्तु उत्पादनमा धान चमल, गहुँ, मकै, जैविक तरकारी, जडिबुटी, साथै औद्योगिक उत्पादनमा नेपाली गलैंचा, तयारी पोशाक, फेल्टका विस्तुहरू, हस्तकलदाका सामग्री निर्यात गर्न सकिन वस्तुको रुपमा उल्लेख गरिएको छ। सेवाहरूमा जलविद्यूत, आइटी तथा बिपिओ, चिकित्साको प्रोफाइल तयार गरिएको छ।

यस प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तु तथा सेवाहरूमा तयारी पोशाक, दैनिक उपभोग्य सामानहरू, प्लाष्टिकका सामानहरू, फर्चिचर, तेल, मकै, गहुँ तथा दूग्ध पदार्थ रहेकाछन्। त्यस्तै, हस्तकलाका सामान र विजुलीलाई पनि लिइएको छ।

अन्तरप्रदेश व्यापार सम्भावना भएको वस्तुहरू तथा सेवाहरूमा छाला, धान, दाल, मासु, अन्य खाद्यान्न, काठ, रोजिन, दाउरा, तयारी पोशाक, गलैंचा, धागो, तेल, प्लाष्टिकका सामानलाई राखिएको छ।

मुलुकको वैदेशिक व्यापार घाटा कसरी घटाउन भन्ने बहस भइरहेको बेला सरकारले सातै प्रदेशको उत्पादन प्रोफाइल तयार गरेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले प्रोफाइल तयार गरेर प्रत्येक प्रदेश सुझाब सहित प्रतिवेदन पठाइएको छ।

केन्द्रले सातै प्रदेशमा रहेका निर्यातयोग्य वस्तुहरू, आयात प्रतिस्थापन एवं अन्तरप्रदेश व्यापार हुन सक्ने वस्तु तथा सेवाहरूको विस्कृत रुपमा अध्ययन गरी बस्तु तथा सेवाहरूको प्रोफाइल तयार गरेको हो। सरकारले गत आर्थिक वर्षमा उक्त प्रोफाइल बनाउने योजना अनुसार झन्डै ६ महिना लगाएर अध्ययन प्रतिवेदन तयार गरिएको थियो।

छुट्टाछुट्टै तयार गरिएको सातै प्रदेशको उत्पादन प्रोफाइललाई प्रत्येक प्रदेशमा पठाइसकिएको छ।

प्रोफाइल तयार गर्ने क्रममा स्थलगत अध्ययन, सारोकारवाहरूसँग छलफल, अहिलेसम्मको आयात निर्यातको अवस्था र अबको सम्भावनालाई विषयमा छलफल गरिएको थियो।

प्रतिवेदनमा अन्तरप्रदेश व्यापार हुन सक्ने वस्तुहरू, निर्यात भइरहेका तथा निर्यातयोग्य वस्तुहरू, नेपालको आयात निर्यातको अवस्था, प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु तथा सेवाहरूको अथ्यांकको विवरणहरू समावेश गरिएको छ। यस प्रोफाइलमा अब प्रदेशले गर्नु पर्ने काम, सम्भवना, सबल र दुर्बल पक्ष र उत्पादन वस्तुको विस्तृत विवरण समावेश गरिएको छ।

यस प्रतिवेदनमा नपरेका वस्तु तथा सेवाहरूको अध्ययन गरी थप परिमार्जन गर्दै समावेश गर्ने केन्द्रले जनाएको छ। प्रदेशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाइ निर्यात अभिवृद्धि मार्फत मुलुकको बढ्दो व्यापारघाटा कम गर्न सहयोग पुर्‍याउने उद्देश्य रहेको केन्द्र प्रवक्ता शान्तीदेव मल्लले बताइन्। प्रदेशहरूले यसलाई सकारात्मक रुपमा लिदै यसका आधारमा नीति तयार गर्न सजिलो हुने बताएको उनले बताइन्।

अन्तर प्रादेशिक व्यापारलाई अभिवृद्धि गर्ने, आयातित मालवस्तुहरूलाई प्रदेशमा उत्पादित मालवस्तरुको प्रतिस्थापन गर्ने, प्रदेशमा सम्भावना भएका वस्तु तथा सेवा व्यापारका अवसरलाई पहिचान गरी व्यापार प्रवद्र्धन तथा नीति तर्जुमा गर्न सहयोग गर्ने यस अध्ययन उद्देश्य रहेको छ।

यस अध्ययनबाट प्रत्येक प्रदेशले निर्यात सम्भावना भएका वस्तु तथा सेवाहरूको जानकारी पाउने छन्। अन्तर प्रदेश व्यापारका सम्भावित वस्तु तथा सेवाहरूको सूचि तयार हुनेछ। यस अध्ययनका आधारमा निर्यात सम्भावना भएका, आयात प्रतिस्थापन हुने र अन्तर प्रदेश व्यापार सम्भावना बारेमा प्रदेशलाई नीति तर्जुमा गर्न सहयोग पुग्ने केन्द्रको विश्वास छ।

केन्द्रले प्रत्येक प्रदेशको प्रोफाइल तयार गरेर अन्तरप्रदेश लगानी सम्मेलन गर्ने योजना समेत बनाएको थियो। गत आर्थिक वर्षमा सातै प्रदेशको प्रोफाइल मात्र बनाउने भनिएका सम्मेलन भने गर्न नसकिएको केन्द्रले जनाएको छ।

सम्मेलन गर्ने विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले सम्मेलन गर्दा खर्च धेरै लाग्ने भएकाले प्रत्येक प्रदेशलाई पठाउन भनेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*