नेपालबाट लगानी फिर्ता : सम्पर्कमा आएनन् उत्तर कोरियाली लगानीकर्ता

नेपालमा गरिएको लगानी फिर्ता लैजान दिइएको समयसीमा सकिँदा पनि उत्तर कोरियाली लगानीकर्ताहरू उद्योग विभागको सम्पर्कमा आएका छैनन् । विभागले कात्तिकको दोस्रो साताभित्र नेपालमा रहेको लगानी प्रक्रिया पुर्याई फिर्ता लैजान कात्तिक ३ गते तेस्रोपटक निर्देशन दिएको थियो ।
यसअघि भदौ ३० को निर्देशनमा विभागले उत्तर कोरियाली लगानीकर्तालाई ४५ दिनको म्याद अर्थात् कात्तिक १४ गतेसम्म लगानी फिर्ता लैजान भनेको थियो । कोरियाली कम्पनी सम्पर्कमा नआएपछि विभागले उद्योग मन्त्रालयलाई कात्तिक १६ गते पत्राचार गर्दै पछिल्लो प्रगति विवरण पठाइसकेको छ ।
लगानी फिर्ताको म्याद सकिएपछि मन्त्रालयले विभागसँग जानकारी मागेको थियो । त्यसको जवाफ दिँदै विभागले कुनै पनि कम्पनी लगानी फिर्ताका लागि विभागसँग सम्पर्कमा नआएको जानकारी दिएको छ । ‘विभागले पटकपटक पत्राचार गर्दा पनि उनीहरू सम्पर्कमा आएका छैनन्,’ विभागका महानिर्देशक जीवनप्रसाद लुइँटेलले बताए ।