खोलामा रिसोर्ट बनाउने ठेकेदारलाई इटहरी नगरपालिकाको चिठी- बनाउन नछोडे डोजर लगाउँछौं, डोजर खर्च पनि तिराउँछौं

जनपत्र
२० कार्तिक २०७६, बुधबार १७:१५

इटहरी उपमहानगरपालिकाले खोलो मिचेर रिसोर्ट बनाउने ठेकेदार भीम पौडेललाई कारबाहीको दायरामा ल्याएको छ। ठेकेदार पौडेलले इटहरी(२ तालतलैयानजिकै रहेको सेहरा खोला मिचेर रिसोर्ट बनाउन थालेपछि निर्माण रोक्न पत्र पठाउँदै तीन दिनभित्र नगरपालिका आउन आदेश दिएको छ। नगरपालिकाले मंगलबार ठेकेदार पौडेललाई चिठी काटेर तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

सार्वजनिक जग्गा मिचेर रिसोर्ट बनाउन थालेको जनगुनासो आएपछि नगरपालिकाले ठेकेदारलाई कारबाहीको दायरामा ल्याएको हो। जनताले गुनासो गरेपछि उपमहानगरपालिकाले अमिन टोली पठाएर जग्गाको नापजाँच गराएको थियो।नापजाँच गर्दा सार्वजनिक जग्गा मिचेको पत्ता लागेपछि निर्माण रोकेर कागजात बुझाउन चिठी काटिएको उपमेयर लक्ष्मी गौतमले बताइन्। ‘अमिन टोलीले नापजाँच गर्दा खोलामै रिसोर्ट बनाएको भेटियो, यस्तो कार्य बन्द गरेर जग्गाको कागजात पेश गर्न चिठी काट्यौं,’ उनले भनिन्। ठेकेदार पौडेल तीन दिनभित्र नआए र निर्माण नगरोके उनलाई पक्रेर कारबाही थाल्ने चेतावनी नगरपालिकाले दिएको छ।

‘निर्माण रोकेर कागजात लिई नआए पक्राउ गरेर डोजर लगाइ भत्काइदिन्छौं,’ उपमेयर गौतमले भनिन्, ‘डोजरको इन्धन खर्च र भाडा पनि तिराउँछौं।’ ठेकेदार पौडेल इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष हुन्। उनीमाथि मोरङ-सुनसरीको खोलानालाको प्राकृतिक स्रोतसाधन दोहन गरेको आरोप पनि छ। लामो समयदेखि सुनसरी(मोरङको खोला ठेक्का चलाउने उनको मोरङको चिसाङ खोलामा क्रसर उद्योग छ।

ठेकेदार पौडेलले त्यहाँ नजिकैको स्कुलको एक विगाहा भन्दा बढी जग्गा लिजमा लिएका छन्। बाँकी ६४ कठ्ठा जग्गाको अधिकांश भागमा खोलो रहेको उपमहानगरपालिकाले जनाएको छ। उपमेयर गौतमले नगरपालिकाभित्र संरचना बनाउँदा मापदण्डबारे पनि नसोधिएको बताइन्। ‘नगरपालिकाभित्र संरचना बनाउँदा मापदण्डको अनुमति पनि चाहिन्छ, त्यो पनि पालना गरेको देखिएन,’ गौतमले भनिन्। ठेकेदार पौडेलले त्यहाँ संरचना निर्माणको काम अघि बढाइरहेका थिए। सेतोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*