भिआईपीहरुको जेल जिवनः जेलमै हुँदा रेशम चौधरीलाई सपथ खुवाएका ‘सभामुख’ महरा उहीँ पुगे

पूर्व सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारमा पुर्याइएको छ। यसअघि जेलमै भएका बेला राजपा सांसद रेशमकुमार चौधरीलाई सपथ खुवाउँदै फूलमाला लगाइदिएका महरा पुर्पक्षका लागि उही कारागार पुगेका हुन्।
उनीहरुसँगै यो कारागारमा दुई भिआइपी प्रहरी पनि छन्। भ्रष्टाचार मुद्दामा पूर्व आइजिपी रमेश चन्द ठकुरी र श्रीमतीको हत्या गरेको मुद्दामा शसस्त्रका पूर्व डिआइजी रन्जन कोइराला पनि यहीँ जेल जीवन काटिरहेका छन्।
काठमाडौं जिल्ला अदालतले यौन दुव्र्यवहारको आरोपमा महरालाई पुर्पक्षका लागि सोमबार थुनामा पठाएको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामै राखेर कानुनी कारबाही अघि बढाउन आदेश दिएको हो।
‘सभामुखजस्तो गरिमामय पदमा आसिन भएका महराले आफ्नै कार्यालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणीजस्तो जघन्य अपराध गरेको अभियोग लागेकोमा फौजदारी कार्यसंहिता २०६७ को दफा ६७ मा भएको कानुनी व्यवस्था समेतका आधारमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादी (कृष्णबहादुर महरा) लाई प्रस्तुत मुद्दा पक्षका लागि थुनामा राख्न र उक्त दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई डिल्लीबजार कारागारमा पठाइदिनु भनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७९ बमोजिम यो आदेश गरिन्छ,’ आदेशमा भनिएको छ।
महरालाई असोज १९ गते आइतबार साँझ पक्राउ गरिएको थियो। महराले असोज १३ गते सभामुखबाट राजीनामा दिएका थिए।
टीकापुर हत्याकाण्डमा सांसद चौधरी
यसअघि कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमकुमार चौधरीलाई पनि डिल्लीबजारस्थित सदरखोर लगिएको थियो। राजपा सांसद रहेका चौधरी टीकापुर हत्याकाण्डमा पुर्पक्षका लागि जेल चलान भएका छन्। जेलमै रहेका बेला राजपाको दवावमा उनलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको सपथ दिलाएका थिए।
थारु भाषामा सपथ लिएका चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको थियो।
सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाला लगाइदिएका थिए।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो। सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा दर्ता भएको छ। घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइ प्रतिनिधिसभामा विजयी भएका थिए।
सुडान घोटलाकाण्डमा दोषी ठहरिएका पूर्व आइजीपी
यस्तै लामो समय फरार भएका नेपाल प्रहरीका पूर्व आइजीपी रमेश चन्द ठकुरी पनि उही जेलमा छन्।
सुडान घोटलाकाण्डमा दोषी ठहरिएका पूर्व आइजीपी चन्द फैसला कार्यान्वयनका लागि जेलमा छन्। गएको असार १९ गते उनलाई फैसला कार्यनवयनका लागि कारागार चलान गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति मिसन सुडानका लागि प्रहरीले खरिद गरेको बन्दोबस्ती सामान गुणस्तरीय नभएको आरोपमा २८ करोड ८१ लाख बिगो दाबीसहित २०६८ जेठ २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो।
अदालतले ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिबाना हुने ठहर गरेको थियो। जनही दुई वर्षको कैद सजाय पनि इजलासले सुनाएको थियो।
श्रीमतीको हत्या : पूर्व डिआइजी कोइराला
सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला पत्नी गीताको हत्या गरेको अभियोगमा डिल्लीबजार कारागारमै छन्।
उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। श्रीमती गीतालाई २०६८ पुस २७ गते काठमाडौँको पासीकोटमा हत्या गरी मकवानपुरको पालुङ नजिकको मेत्राङमा लगेर शव जलाएका थिए।
शव जलाएको प्रमाण नष्ट गरेर फर्कदै गर्दा कोइराला माघ ८ गते नागढुङ्गा चेकपोष्टबाट पक्राउ परेका थिए। वैसाख ७ गते विशेष अदालतले उनलाई जन्म कैदको फैसला गरेको थियो। नेपाल न्युजबाट ।