हेटौंडाको रापती तटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर भव्य रुपमा मनाइयो छट पर्व

हेटौंडा । हेटौंडाको रापती तटमा आज निकै भव्यताका साथ छट पर्व मनाइएको छ । सधै मरेका मानिसलाई दाह संस्कार गर्न लैजाने रापती खोलाको किनार आज निकै सभ्य र भव्य रुपमा छट पर्व मनाइएको हो ।
हेटौंडाको रापती खोलामा तराईमुलका वासीन्दा र पहाडीया मुलका वासीन्दाहरु एक आपसमा मिलेर भव्य रुपमा छटपर्व मनाएका छन् । आज साँझ अस्ताउँदो सूर्यलाई पुजा गर्दै छट पर्वको बिशेष दिन मनाइएको हो ।
परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको हो । छठ पर्वको आज मुख्य दिन हो ।
सूर्यको पूजा गरेर मनाइने छठ पर्व पछिल्लो समय पहाडी जिल्लाहरूमा समेत मनाउन थालिएको छ। छठ पर्वले दुई समुदायबीच साम्रादायिक सदभाव सिर्जना हुन थालेको समाजशास्त्रीहरू समेत बताउँदै आएका छन्। विशेष गरी मधेसी समुदायले मनाउने गरिएको छठ पर्व अहिले पहाडी समुदायको पनि बाक्लो सहभागितामा मनाउन थालिएको छ।
हेटौंडा उपमहानगरपालिका १ की अप्सरा न्यौपाने छठी माताको पूजा गर्दा रोग र समस्याबाट मुक्ती मिल्छ भन्दै ५ वर्षदेखि निरन्तर वर्त बसिरहेको बताउँछिन्। आफ्नो घरमा व्यवसाय गरेर बसेका मधेसी मुलका साथीले छठ पर्व मनाउन थालेपछि आफू पनि ५ वर्ष देखि मनाउन थालेको उनले बताइन्। हेटौंडा ४ कमलडाँडाकी सबिता शर्माको परिवार नै यो छठमा व्रत बसेका छन्। उनीहरू छठको पहिलो दिनदेखि नै माछामासु, लसुन, प्याज, कोदो, मसुर नखाएर शुद्ध भई बसेको र छठी माताको पूर्णविश्वास रहेको बताउँछन्।
दशैं, तिहार जसरी नै छठ मनाउन थालेको उनले बताइन्। यस्ता थुप्रै पहाडी समुदायका व्यक्ती, परिवार हेटौंडाको राप्ती तटमा छठी माताको ब्रत बसेको भेटिन्छन्। प्रदेश ३ को राजधानी समेत रहेको मकवानपुरको हेटौंडामा पछिल्लो समय मधेसी समुदाय भन्दा पहाडी समुदायको धेरै संख्यामा छठ पर्वमा सहभागी भएका छन्।
छठ पर्वले धार्मिक आस्था मात्रै नभई सामाजिक सद्भाव पनि जोडिएकोले पछिल्लो समय पहाडी समुदायको पनि बाक्लो सहभागिता रहेको छठ पूजा समारोह समिति हेटौंडाका उपाध्यक्ष रवि गुप्ताले बताए। उनले प्रत्येक वर्ष छठ पर्व मनाउनेहरूको संख्या समेत बढ्दै गएको बताए। यसवर्षको छठपर्वमा १ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए।
मानव सभ्यता, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्य उपासनाको परम्परा एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा पनि गरिने गरिन्छ। मानव सभ्यताको विकास नदी किनारबाट भएको र यसको जगेर्ना गर्ने मानिएको सूर्यको आराधनाले आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश छठ पर्वले दिने जनविश्वास छ। व्रत बस्नेले छठको पहिलो दिनदेखि नै माछामासु, लसुन, प्याज, कोदो, मसुर नखाएर शुद्ध भई बस्ने गर्दछन्।
सबै नेपालीको साझा पर्व छठ पर्व – मुख्यमन्त्री पौडेल
प्रदेश नम्बर—३ का मुख्यमन्त्री डोरमणी पौडेलले सबै नेपालीको साझा पर्वका रुपमा छठ पर्वलाई लिइएको बताउनुभएको छ । हेटौडाको राप्ति बगरमा आयोजना गरेको छठ पूजाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अब छठ पर्व मधेशको मात्र पर्व नभएर समस्त नेपालीको साझा पर्व भएको बताउनुभयो । छठ पर्वले हिमाल तराई पहाड एउटै भएकोे सन्देश दिएको समेत बताउनु भयो ।
पौडेलले जाति, धर्म तथा कुनै संप्रदाय विषेश नभई सिंगो नेपालीको साभाm चाड हो भनेर मनाउन सकेमा मात्रै हामीले गरेका समृद्धिका कुराहरु अक्षरता पालना भएको कुरा ठहर हुने जिकिर गर्नु भयो । उहाँले भन्नु भयो,“यो पर्व मनाउनेको संख्या धेरै छन्,सबैको साझा छर्ठ पर्व हो भनेर अनुभुति गरिसकका छन् ।”
जातिय विशेषको सरकार नभई साझा सरकार भएको अनुभुति दिने बताउनु हुँदै विकासको गति लिइरहेको बताउनु भयो । राप्ति क्षेत्रलाई तठवन्धन गरि यस क्षेत्रको विकासमा लागिपरिरहेको उहाँको भनाई थियो । उहाँले थप्नु भयो,“नेपाली जनताको समृद्धिको सपनालाई पुरा गर्नको निमित्त यस पर्वले सबैमा प्रेरणा दिइयोस्,यहि शुभकामना छ । ”
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर हेटौंडाको रापतीखोलामा भव्य रुपमा छट पर्व मनाइएको थियो । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।
त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतका सामग्रीहरु चढाइन्छ ।
त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ्य दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाइ उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
यतिबेला सूर्यलाई अर्घ्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनारलगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले सिँगारिएको छ । रापतीखोलामा लगाइएको झिलिमिली बत्तीले रातिको समयमा झनै मनमोहक देखिन्छ ।
पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लगेको पूजा सामग्रीसहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् । बिहानपख सूर्य उदाउनु केहीबेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ्य दिने गर्दछन् ।
उदाउँदो सूर्यलाई अर्घ्यको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पुर्याइदिने मिथिलाञ्चलमा प्रचलन छ ।
छठ पर्वमा विभिन्न स्थानमा सांस्कृति कार्यक्रमहरु पनि आयोजन हुने गर्दछ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडमा समेत मनाउन थालिएको छ ।