तरुण दलको स्थापना दिवसमा हेटौंडाको मदरसालाई सहयोग

जनपत्र
१० कार्तिक २०७६, आईतवार १२:१३

हेटौंडा– नेपाल तरुण दलको ६६ औं स्थापना दिवसको अवसरमा तरुण दल मकवानपुर शाखाले मदरसालाई खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको छ । हेटौंडा–१ स्वर्गलोकमा रहेको मदरसा दारुल कुरानलाई आइतबार एक कार्यक्रमकाबीच तरुण दलले दाल चामललगायत कापी कलम सहयोग गरी आफ्नो स्थापना दिवस मनाएको हो ।

तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा तरुण दल मकवानपुरका संस्थापक अध्यक्ष एवम् नेपाली काग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । पार्टीका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सल्लाहकार प्रभात दाहाल, पार्टी सचिव बुद्ध लामा, जिल्ला सदस्य राजीव सुबेदी, हेटौंडा–१ नम्बर वडाका जननिर्वाचित अध्यक्ष सविन न्यौपाने,मदरसाका हेड मदरिस इसराफिल मौलाना, शिक्षक अलि हुसेन, तरुण दलका जिल्ला सचिव सचित थापा, सन्तोष सापकोटा, नगर अध्यक्ष सुनिल गिरीलगायतको आतिथ्यता रहेको थियो ।

सहयोग हस्तान्तरणपछि बोल्दै तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले राजनीतिमा सबै धर्म र जाती एकै हुने भन्दै मुस्लिम बालबालिका पढ्ने मदरसामा आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाए । सबै धर्म र संस्कृतिको जगेर्ना गर्नु दायित्व भएको भन्दै असहाय मुस्लिम बालबालिका अध्ययन गर्ने मदरसा दारुल कुरानलाई सहयोग गरिदिन पनि सबैलाई आग्रह गरे । शिक्षक अलि हुुसेनले सहयोगप्रति धन्यवाद दि“दै आफूहरुलाई विभिन्न संघसंस्थाका साथै वडा कार्यालयबाट पनि राम्रो सहयोग प्राप्त भइरहेको भन्दै आगामी दिनमा सहयोग जारी राख्न आग्रह गरे । मदरसामा हाल ६० जना असहाय मुस्लिम बालबालिकाले अध्ययन गरिरहेको शिक्षक हुसेनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*