मकवानपुरको फाखेलको खड्बुमा ३ वर्षे कार्तिके नाचको तयारी

कार्तिक महिनामा देशका विभिन्न स्थानमा नेवारी सम्प्रदायले विभिन्न कथामा आधारित नाच देखाउने गर्दछन् । यस्तै एउटा उदाहरण हो, खड्बुको ३ वर्षे कार्तिके नाच ।
इन्द्रसरोवर गाउँपालिकाको वडा नं ५ फाखेल खड्बुको नेवारी सम्प्रदायले देखाउने कार्तिके नाच प्रत्येक ३ वर्षमा एक पटक आयोजना गरिन्छ । खड्बुमा रहेका नेवारीहरुको ४९ घरका परिवारबाट गठित महाचुनी महालक्ष्मी नाटेश्वरी गुठी मार्फत उक्त नाच प्रस्तुत गरिन्छ । इन्द्रसरोवर गाउँपालिकामै एउटा छुट्टै इतिहास र पौराणिक महत्व बोकेको खड्बुमा देखाइने उक्त नाच परापुर्वकाल देखि नै देखाउँदै आएको स्थानीय अग्रजहरु बताउँछन् ।
विशेष महत्त्वका साथ प्रस्तुत गरिने नाचका लागि भने असोज ५ गतेदेखी सिकाउने कार्य भैरहेको छ । युवा पुस्ताको गाउँघरमा अभाव भएपनी उचित व्यवस्थापन गर्दै तिब्रगतिमा नाच सिकाइएको स्थानिय अग्रज रत्नलाल बलामीले बताए । नाचको लागि ५३ जना कलाकारहरुको भुमिका रहन्छ तर गाउँमा रहेका जनशक्ति पर्याप्त भने छैन । तर पनि शुक्रबार र शनिबार हप्ताको २ दिन भने ५३ जना कलाकारको सहभागितामा नै नाच सिकाइरहेको नाच गुरुले बताए ।
गाउँबाट काठमाण्डौ बस्दै रोजगारी गरिरहेका युवाहरुलाई आफ्नो फुर्सदको समय शुक्रबार र शनिबार गाउँमा आई आफ्नो भुमिकामा अनिवार्य सिक्न र अभ्यासको लागि व्यवस्था गरेपछी यो पटक भने नाच सिकाउनको लागि जनशक्तिको अभाव नभएको उनले बताए । यहि साल अशोजको ५ गतेदेखी नाचको तयारीका लागि अभ्यास थालिएको थियो । अहिले खड्बुमा कार्तिके नाचको लागि अभ्यास तथा तयारीका लागि रातभर नाच सिकाउने क्रम चलिरहेको छ ।
यस वर्ष भने यहि कार्तिक २६ गते देखि ४ रात सम्म सञ्चालन हुने नाच गुरु तेज बहादुर नगरकोटीले जानकारी दिए । ४ रातभर देखाइने उक्त नाचमा पहिलो र दोस्रो दिन नाच देखाएपछि एकदिन अर्थात २८ गते १ दिन भने ग्याप अर्थात खाली राखी २९ र ३० गते नाच देखाइने नाच गुरु नगरकोटीले बताए । यस वर्षको नाचमा महाभारतको बिरातपर्व संग सम्बन्धित कथा सँग सम्बन्धित नाच प्रस्तुत गरिने छ । ४ रात देखाइने नाचमा २ रात कुमारी खट र २ रात महाचुनी खटमा देखाइन्छ । विकास खवरबाट ।