मकवानपुर गढी भएरजाने भयो ‘एकीकरण मार्ग’

नेपालको एकीकरण अभियानमा योद्धाहरुले हिंडेको बाटो, बनाएका दरबार र गढीहरुलाई एक–आपसमा जोड्ने काम ‘एकीकरण मार्ग’ ले गर्नेछ।
जनपत्र
९ कार्तिक २०७६, शनिबार ०८:१५

हेटौंडा । मकवानपुर गढी भएर एकीकरण मार्ग निर्माण हुने भएको छ । मकवानपुर गढी दरवार र भिमफेदी गाउँपालिकाको गढीलाई पनि जोड्दै नेपाली सेनाले एकिकरण मार्ग बनाउने भएको हो । एकिकरण मार्ग वनेपछी कसरी एकिकरण भयो भन्नेकुराको पुरै जानकारी दिइने छ ।

आधुनिक नेपालको एकीकरण अभियान कसरी भयो? एकीकरणका क्रममा योद्धाहरु कुन कुन बाटो हिंडे? कहाँ गढी बनाए बसे?– यी सबै प्रश्नको जवाफ अब एउटै पैदल मार्गले दिने भएको छ। पैदल मार्गको निर्माण सुरु गरेको छ नेपाली सेनाले। र, यो पैदल मार्गलाई नाम दिइएको छ– ‘एकीकरण मार्ग’।

‘नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर हामीले एकीकरण मार्ग निर्माण गर्न खोजेका हौं,’ नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेले नेपालन्युजसँग भने, ‘एकीकरणको दौरानमा प्रयोग गरिएका बाटो तथा लडाईं लडेका गढी एवं किल्लाहरु सबैलाई समेटी उक्त स्थानको व्यवस्थित ढंगबाट सम्बद्र्धन र जर्गेना गर्ने हाम्रो लक्ष्य हो।’

आधुनिक नेपालको एकीकरण अभियान पृथ्वीनारायण शाहले गरेको मानिन्छ। पृथ्वीनारायणले सुरु गरेपछि नेपालको एकीकरण अभियानमा योद्धाहरुले हिंडेको बाटो, बनाएका दरबार र गढीहरुलाई एक–आपसमा जोड्ने काम ‘एकीकरण मार्ग’ ले गर्नेछ। एकीकरण अभियानमा जुन बाटो प्रयोग गरिएको थियो त्यसलाई सेनाले पुनःनिर्माण गर्न खोजेको हो।

‘यो मार्गको सुरुवात सन् २०२० को फेव्रुअरीबाट गर्ने हाम्रो तयारी छ,’ सैनिक प्रवक्ता पाण्डेले भने। सुरुआत आउने फ्रेब्रुअरीबाट गर्ने भएपनि सबै किल्ला, गढी, दरबारलाई पैदल मार्गले जोड्ने काम सम्पन्न गर्न केही वर्ष लाग्नेछ। यो मार्ग निर्माणको लागि सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बिनियोजन गरेको छ।

हालको तयारीअनुसार एकीकरण मार्ग पूर्वमा इलामबाट सुरु भई पश्चिममा बैतडीको अयजमेरुकोटमा पुगी अन्त्य हुनेछ।

सेनाकाअनुसार इलामबाट सुरु हुने एकीकरण मार्ग मोरङ–सुनसरी– चौदन्डीगढी (उदयपुर)– उदयपुरगढी (उदयपुर)– सिन्धुलीगढी (सिन्धुली)– मकवानपुरी गढी (मकवानपुर)– चिसापानीगढी (मकवानपुर)– काठमाडौं उपत्यका– नुवाकोट दरबार (नुवाकोट)– बारपाककोट (गोरखा)– गोर्खा दरबार (गोरखा)– लिगलिगकोट (गोरखा)– तनहुँ– गाउँसहरको लम्जुङ दरबार (लम्जुङ)– कास्कीकोट (कास्की)– सटउकोट (स्याङ्जा)– विजयपुर (पाल्पा)– जितगढी (रुपन्देही)– पाल्पा प्राचिन दरबार (पाल्पा) – चर्पाल दरबार (गुल्मी)– अर्घाकोट (अर्खाखाँची)– फालवाङ्ग दरबार (सल्यान)– बयलकांडाकोट (सुर्खेत)– दल्लु प्राचीनकोट (दैलेख)– मंगलसेन दरबार (अछाम)– जयगढ (अछाम)– थालाकोटा (बझाङ)– डुम्राकोटा (डोटी)– दिपायलकोट (डोटी) र अयजमेरुकोट (बैतडी) पुगेर अन्त्य हुनेछ।

एकीकरण मार्ग निर्माणको मुख्य लक्ष्य नेपालको इतिहास प्रबद्र्धन गर्नु रहेको छ। सैनिक प्रवक्ता पाण्डेका अनुसार पुर्खाहरुको बलिदानलाई जीवन्तता दिन सेनाले एकीकरण मार्गको अवधारणा ल्याएको हो। पुर्खाको पाईलाहरुको पदचाप पछ्याउँदै इतिहास, सम्पदा र संस्कृतिलाई एकीकृत रूपमा विकास गर्ने सेनाको सोच छ।

‘यो अभियानले ऐतिहासिक पदमार्ग, गढी, किल्ला, दरबारहरुको संरक्षण र सम्बद्र्धन हुनेछ,’ उनले भने।

यस कार्यलाई द्रुतगतिमा अघि बढाउनको लागि कार्यरथीको कार्यालयअन्र्गत छुट्टै ‘एकीकरण मार्ग समन्वय कार्यालय’ स्थापना गरिएको छ। पृतना तहमा पनि यस्तै कार्यालय स्थापना गरिसकिएको छ। पृतनाहरुले जिम्मेवारी क्षेत्रमा एकीकरण अभियानसँग सम्बन्धित गढी, किल्ला, दरबार, पदमार्ग आदिको पहिचान गर्ने र अभिलेखीकरण गर्ने कार्य गरिरहेको सैनिक प्रवक्ता पाण्डेले बताए।

इतिहासभन्दा फरक नपरोस् भनेर सेनाले एकीकरण मार्गको सही पहिचान गर्न इतिहासविद र संस्कृतिविद सम्मिलित एक समिति पनि बनाएको छ। समितिले पनि एकीकरण मार्गको अध्ययन गरिरहेको छ।

एकीकरण मार्ग निर्माण अभियान अन्तर्गत अहिले मकवानपुर गढी विजयपार्क निर्माण, गोर्खामा लिगलिगकोटको विकास कार्य र सिन्धुली गढीमा नमुना संग्रहालय बनाउन पहल भइरहेको छ।

‘एकीकरण मार्गमा पर्ने सबै गढी, किल्ला, दरबारलाई हामी पैदल मार्गले जोड्ने छौं,’ सैनिक प्रवक्ता पाण्डेले भने, ‘हाम्रो इतिहास पढ्न आउने तथा रुचि राख्ने विदेशीलाई आकर्षण गर्न पनि यो मार्ग निर्माण कार्य अघि बढाएका हौं।’

नेपालको इतिहासमा रुचि राख्ने स्वदेशी तथा विदेशीलाई यही मार्गमा यात्रा गराई नेपालको बारेमा जानकारी दिइनेछ। नेपाली विद्यार्थीहरुलाई पनि यो मार्गमा शैक्षिक भ्रमण गराउने योजना सेनाको छ। यही मार्गमा विभिन्न दौंड प्रतियोगिता गर्ने योजना समेत सेनाले बनाइरहेको छ।

किल्ला तथा गढीहरुमा तत्कालीन सेनाले प्रयोग गर्ने पोशाक र हतियार लगाई हालका सेनालाई राखिने छ। शैक्षिक भ्रमणका बेला त्यस्ता किल्ला तथा गढीहरुमा युद्धको डेमो समेत देखाइने योजना सेनाको छ। ‘पढेको भन्दा देखेको कुरालाई लामो समयसम्म सम्झिन्छन् भन्छन् नी! त्यसैले यो मार्गमा शैक्षिक भ्रमण गराउँदा तत्कालिन युद्ध झल्कने डेमो देखाउने समेत सोच हाम्रो छ,’ उनले सुनाए। नेपाल न्युजबाट । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*