नेपालमा अपराध विदेशमा पक्राउ : नौ वर्षमा १० देशबाट ल्याइयाे २३ मोस्ट वान्टेड

२८ नेपाली अझै रेड नोटिसमा : अधिकांश सुन तस्करी प्रकरणका
जनपत्र
९ कार्तिक २०७६, शनिबार ०७:४६

नेपालबाट सातजनालाई पक्राउ गरेर पठाइयो 

जस्तोसुकै अपराध गरे पनि विदेशतिर भागेपछि उम्किन सकिन्छ भन्ने अपराधीको बुझाइ हुन्छ । तर, पछिल्ला कैयौँ घटनाले यो बुझाइ गलत साबित गरिदिएको छ । अपराध गरेपछि विश्वका जुनसुकै कुनामा पुगे पनि उन्मुक्ति पाउन सम्भव छैन । ढिलोचाँडो प्रहरीको पञ्जामा पर्ने निश्चित छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेर प्रहरीले अपराधमा संलग्न कैयौँलाई स्वदेश झिकाएको छ । पछिल्ला नौ वर्षमा १० देशबाट २३ मोस्ट वान्टेडलाई पक्राउ गरी नेपाल झिकाइएको छ । नवराज मैनालीको रिपोर्ट :

सन् २०११ यता कुन देशबाट कति अभियुक्त झिकाइए ?

  • सन् २०११ मा एक अभियुक्तलाई मात्रै विदेशबाट पक्राउ गरी नेपाल ल्याउन प्रहरी सफल भयो । नक्कली कागजपत्र बनाएको मुद्दामा फरार रोशन पाण्डेलाई क्यानडामा पक्राउ गरेर ल्याइएको थियो ।
  • सन् २०१२ मा दुईजना अभियुक्त झिकाउन प्रहरी सफल भयो । ठगी मुद्दामा फरार विनिता प्रधानलाई थाइल्यान्डबाट र हत्याको अभियोग लागेका अनिल राईलाई भारतबाट पक्राउ गरेर ल्याएको थियो ।
  • सन् २०१५ पनि दुई अभियुक्त ल्याइयो, उनीहरू ठूला मुद्दाका अभियुक्त थिए । सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने सुटर सञ्जय स्माइली मगरलाई साउदी अरेबियामा पक्राउ गरेर ल्याइएको थियो । त्यस्तै, गैँडाको खाग तस्करी गिरोहका नाइके राजकुमार प्रजालाई मलेसियाबाट पक्राउ गरी ल्याइएको थियो । उनीहरू लुक्नकै लागि अरूको नामको पासपोर्टमा विदेश गएका थिए । हाल दुवैजना जेलमा छन् ।
  • सन् २०१७ मा अमेरिकादेखि युएईसम्म लुकेर बसेका चारजनालाई ल्याइयो । हत्या मुद्दामा फरार भई अमेरिका पुगेका जीवनबहादुर अधिकारी, ३३ किलो सुन तस्करी मुद्दामा युएईमा लुकेका गुप्तलाल भुसाल र राजनप्रसाद पन्त तथा प्रेमिकालाई अपहरण गरी हत्या गर्ने प्रकाश लामिछानेलाई नेपाल ल्याइएको थियो ।
  • सन् २०१८ रेड नोटिस जारी भएका अभियुक्त पक्राउमा प्रहरीलाई ठूलो सफलता मिल्यो । १० जना पक्राउ गरेर नेपाल झिकाइए । हत्या मुद्दामा फरार तुलबहादुर सिँजालीलाई कतारबाट ल्याइएको थियो । त्यस्तै, हत्या मुद्दाकै फरार अभियुक्त मुखिया गुरुङलाई भारत र एमडी सकिल हुसेनलाई कतारबाट ल्याइयो । वन्यजन्तु तस्करीका कुख्यात अभियुक्त लोडु डिमेलाई पनि भारतबाटै ल्याइएको थियो ।
  • कुवेतमा बसेर मानव तस्करी गर्ने गिरोहका मीना लामा र उनका श्रीमान् श्याम लामालाई पनि स्वदेश झिकाइयो । उनीहरू हाल जेलमा छन् । त्यस्तै, वैदेशिक रोजगार ठगीमा फरार रहेकी सुभद्रादेवी बराम दुबई जाने क्रममा पक्राउ परेकी थिइन् । बलात्कार मुद्दामा फरार भई युएई पुगेका सिंहलाल थिङलाई पनि गत वर्ष नै पक्राउ गरी ल्याइएको थियो ।
  • ठगी मुद्दामा वर्षाैंसम्म फरार सोमनाथ निरौलालाई चीनबाट ल्याइयो भने ३८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका फरार बेनु श्रेष्ठलाई युएईबाट पक्राउ गरी ल्याउन नेपाल प्रहरी सफल भयो ।
  • सन् २०१९ मा नेपाल प्रहरीले चारजनालाई ल्याइसकेको छ । बैंककमा बसेर वर्षौँसम्म मानव तस्करीको गिरोह चलाएका परशुराम गुरुङलाई गत जेठमा ल्याएको हो । त्यस्तै, साइबर क्राइम मुद्दाका अभियुक्त सुरेश गुरुङ तथा बैंकिङ कसुर मुद्दामा रेड नोटिस जारी मनोज श्रेष्ठलाई पक्राउ गरेर ल्यायो । लीलाराज गौतमलाई बुधबार मात्र प्रहरीले अमेरिकाबाट ल्याएको छ ।
  • अन्य केहीलाई ल्याउने प्रक्रिया भइरहेको प्रहरीका सहप्रवक्ता तथा एसएसपी उमेशराज जोशीले बताए । दुबईबाट मात्र तीनजनालाई नेपाल ल्याउने प्रक्रिया चलिरहेको छ । संगठित सुन तस्करीको अभियोगमा फरार रमेश उप्रेती, कृष्णगोपाल अग्रवाल र हरिशरण खड्कालाई ल्याउने प्रक्रिया चलिरहेको छ ।

२८ नेपाली अझै रेड नोटिसमा, अधिकांश सुन तस्करी प्रकरणका


नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले रेड नोटिस जारी गरेका ३० जना अझै फरार छन् । यीमध्ये २८ नेपाली र दुई भारतीय छन् । विगतमा रेड नोटिस जारी भएका व्यक्तिहरूको विवरण वेबसाइटमा राख्ने गरिएकोमा केही वर्षयता प्रहरीले यसलाई गोप्य राख्न थालेको छ । सार्वजनिक गर्दा पक्राउ गर्न कठिन भएपछि गोप्य राख्न थालिएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए ।

२८ मध्ये सबैभन्दा धेरै सुन तस्करी प्रकरणका छन् । त्यस्तै, बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भएका पवन कार्की पनि सूचीमा छन् । उनलाई नेपाल ल्याउन प्रहरीले आठ वर्षदेखि प्रयास गर्दै आएको छ । तर, अमेरिकी नागरिक भइसकेकाले अमेरिकाले नेपाल फर्काउन मानेको छैन । त्यस्तै, ३६ जनाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । जसमा नेपालीबाहेक पाँच भारतीय, एक पाकिस्तानी र दुई रोमानियन छन् ।

नेपालबाट सातजनालाई पक्राउ गरेर पठाइयो 
पछिल्लो नौ वर्षमा नेपालबाट सात विदेशीलाई पक्राउ गरी सम्बन्धित देशमा ‘डिपोर्ट’ गरिएको छ । तीन चिनियाँ तथा अमेरिकी, कोरियन, अस्ट्रेलियन र भारतीय एक–एकजना छन् । इन्टरपोलको सहकार्यमा नेपाल प्रहरीले पक्राउ गरी उनीहरूलाई निष्कासन गरिएको हो ।

पछिल्लोपटक २ असोजमा अमेरिकी नागरिक नाथन बेडफोर्डलाई पक्राउ गरी अमेरिकी प्रहरीलाई बुझाइएको थियो । उनलाई लिन अमेरिकी युएस मार्सलले विशेष विमान नै ल्याएको थियो ।

कलाकारदेखि बैंकरसम्म इन्टरपोलको खोजीमा

विश्वका प्रहरीको ‘खोजी सूची’मा नेपालका कलाकारदेखि बैंकरसम्म छन् । धेरै सुन तस्करीमा संलग्न अभियुक्त छन् । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा फरार रहेका झापा गौरादह नगरपालिका–१८ का भोजराज भण्डारी, काठमाडौं महानगरपालिका–९ का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई नगरपालिका–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–८ का टुकबहादुर मगरविरुद्ध रेड नोटिस जारी भएको छ । त्यस्तै, धरान उपमहानगर–२ का कृष्ण बस्नेत, धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल, झापा मेचीनगर नगरपालिका–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध पनि ‘रेड नोटिस’ जारी भएको छ । फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध भने ‘डिफ्युजन’ नोटिस जारी भएको छ ।

मानव तस्करीको आरोपमा क्यानडा बस्ने कलाकार सुदर्शन गौतमविरुद्ध रेड नोटिस जारी भएको छ । उनले दर्जनौँ नेपाली युवा–युवतीलाई अमेरिका लैजाने भन्दै ठगी गरेका थिए । जसमध्ये कतिपयको समुद्रमा मृत्यु भएको थियो । त्यस्तै तत्कालीन क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ठगीमा संलग्न पवन कार्की अमेरिकामा छन् । उनलाई पनि नेपाल ल्याउने प्रयास भइरहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेल पोखरेलले बताए । रेड नोटिस जारी भएका ठगी, मानव बेचबिखनलगायत मुद्दाका कतिपय अभियुक्त रहेको देश थाहा भइसकेको र नेपाल ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

नौ वर्षमा १० देशबाट ल्याइयाे २३ मोस्ट वान्टेड

१९ वर्षअघि सामूहिक बलात्कारपछि हत्यामा संलग्न लीलाराज गौतम

पछिल्लो नौ वर्षमा १० देशबाट २३ मोस्ट वान्टेडलाई पक्राउ गरेर नेपाल झिकाइएको छ । उनीहरूलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी ल्याइएको हो । जसमा ११ जना रेड नोटिस र १२ डिफ्युजन नोटिस जारी भएका अभियुक्त छन् । अमेरिका, क्यानडा, थाइल्यान्ड, मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, भारत, कुवेत र चीनबाट उनीहरूलाई झिकाइएको हो । सबैभन्दा धेरै युएईबाट पक्राउ गरेर झिकाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय यसरी विदेशबाट पक्राउ गरेर ल्याउने क्रम बढेको छ । झापामा १९ वर्षअघि सामूहिक बलात्कारपछि हत्यामा संलग्न लीलाराज गौतम (माथि तस्बिर)लाई गत बुधबार मात्रै इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले काठमाडौं झिकाएको छ ।

नेपाल–भारतबीच पहिलो सुपुर्दगी : भारतीय प्रहरीले हत्याका अभियुक्त गुरुङलाई जिम्मा लगायो नेपाललाई

मुखिया गुरुङ

नेपालबाट भागेर भारत पुगेका तथा भारतमा अपराध गरेर नेपाल आएका धेरै अपराधी पक्राउ गरेर दुई देशका प्रहरीले गोप्य रूपमा एक–अर्कालाई बुझाउँदै आएका छन् । दुई देशबीच वैध रूपमा अपराधी सुपुर्दगी भने पहिलोपटक २७ माघ ०७४ मा भएको हो ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका आतिनी भन्ने मुखिया गुरुङलाई औपचारिक रूपमा भारतीय प्रहरीले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो । तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले नै त्यससम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी थिइन् । १८ कात्तिक ०५८ मा ठमेलको ‘जुली स्टुडियो ५४’ नामक डिस्कोमा मुखिया, कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पालगायतले धारिलो हतियार प्रयोग गरेर सुवर्ण गुरुङको हत्या गरेका थिए । घटनापछि फरार गुरुङलाई अदालतले जन्मकैद फैसला गरेको थियो । प्रहरीले उनको पासपोर्ट नम्बर पत्ता लगाई इन्टरपोलको ‘ब्ल्याक लिस्ट’मा राखेको थियो । मकाउमा बस्दै आएका उनी भारत हुँदै मकाउ जाने क्रममा जयपुर एयरपोर्टमा पक्राउ परेका थिए । पक्राउ परेपछि उनलाई सुपुर्दगीका लागि नेपाल प्रहरीले पहल गरेको थियो । दिल्ली उच्च अदालतले गुरुङलाई नेपालमा सुपुर्दगी गर्न आदेश दिएपछि प्रक्रिया सुरु भएको हो । उनलाई लिन नेपाल प्रहरीका अधिकारीहरू नै भारत गएका थिए ।

अब अपराध गरेर विदेश भाग्दैमा जोगिन सम्भव छैन

डिआइजी विश्वराज पोखरेल
प्रवक्ता, नेपाल प्रहरी

विदेशमा लुकेका अभियुक्तहरूलाई पक्राउ गरेर झिकाउने क्रम पछिल्ला वर्ष बढिरहेको छ । झापाका लीलाराज गौतमलाई अपराध गरेको १९ वर्षपछि अमेरिकाबाट पक्राउ गरेर भर्खरै नेपाल झिकाइएको छ । यो घटनाले के सन्देश दिन्छ भने भने अब अपराध गरेर विश्वको जुनसुकै कुनामा पुगे पनि उन्मुक्ति पाउन सम्भव छैन । नेपालमा अपराध गरेर विदेश भागेका अन्यलाई पनि पक्राउको प्रयास जारी छ । आजको नयाँ पत्रिका दैनिकबाट समाचार, तस्विर हामिले साभार गरेका हौं । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*