निर्मला हत्या प्रकरण : डिएनए परीक्षणमा त्रुटि भएको छानबिन समितिको ठहर

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको डिएनए परीक्षणमा त्रुटि भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको हो । समितिले मंगलबार गृहसचिव प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
प्रतिवेदनमा अभियुक्तको वीर्य भनेर परीक्षण गरिएको नमुना वीर्य नै हो भन्न नसकिने उल्लेख गरिएको छ । चिकित्सक वा प्राविधिकहरूको पसिना नमुनामा मिसिएको हुन सक्ने पनि प्रतिवेदनमा औँल्याइएको छ । यो प्रतिवेदनले डिएनएनमा मात्र भर नपरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खोलिदिएको छ । ‘हामीले सो घटनाको डिएनए परीक्षणसम्बन्धी सूक्ष्म अनुसन्धान गरेर प्रतिवेदन बुझाएका छौँ, कार्यान्वयन गर्ने काम सरकारको हो,’ छानबिन समितिका संयोजक रिजालले भने ।
गृह मन्त्रालयले गत महिना रिजालको संयोजकत्वमा डिएनए परीक्षणसम्बन्धी विज्ञ समिति गठन गरेको थियो । जसमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनएविद् दिनेश झा र त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. तुलसी कँडेल सदस्य थिए । ‘डिएनए परीक्षणसम्बन्धी कुनै प्रोटोकल नै फलो गरेको पाइएन,’ समितिका एक अधिकारीले भने, ‘नमुना संकलनदेखि परीक्षणसम्म त्रुटि छ, डिएनएबाट यो केसको अनुसन्धान सफल हुने सम्भावना न्यून छ ।’
डिएनए परीक्षणका लागि भजाइनल स्वाबलगायतका नमुना संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको थियो । यो प्रक्रिया पूर्णतः दोषमुक्त नरहेको एक अधिकारीले बताए । छानबिन समितिले पोस्टमार्टम तथा नमुना संकलनमा संलग्न चिकित्सकसँग समेत सोधपुछ गरेको थियो । अघिल्लो दिनमै हत्या भएकोमा भोलिपल्ट साँझ मात्र नमुना लिइएको थियो । त्यसले पनि नमुना दूषित भएको हुन सक्ने औँल्याइएको छ ।