बैतडीमा गाउँलेमाथि डोजर चलाइयो, ८ जना घाइते, चालकसहित ४ पक्राउ

जनपत्र
६ कार्तिक २०७६, बुधबार ०७:०४

दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकमा कच्ची सडक निर्माण गर्दा डोजरले महिलालाई हुत्याउने चालक पक्राउ परेका छन् । कच्ची सडक निर्माणका विषयमा गाउँलेहरुबीच विवाद हुँदा निर्माण कार्यमा रहेको डोजरले एक स्थानीय महिलालाई हुत्याएर फालेको थियो ।

सोमबार डोजर चालकले स्थानीय महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले दशरथचन्द नगरपालिका–२ देहीमाण्डौका किशोर बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । अहिले बोहरामाथि अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

वडाको सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झडपका क्रममा डोजर चालकले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएको थियो । घाइते जोशीको अहिले धनगढीमा उपचार भइरहेको उहाँका आफन्तले जानकारी दिएका छन् ।

यस्तै, सडक रोक्ने र सडक लैजाने पक्षबीच झडप हुँदा ८ जना घाइते भएका थिए । रोक्ने पक्षका गौरी जोशी र सुरेन्द्र प्रसाद जोशीको धनगढीमा उपचार भइरहेको छ भने सडक निर्माण गर्नुपर्छ भन्ने पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका थिए । उनीहरु जिल्ला अस्पातलमा समान्य उपचारपछि घर फर्किएका छन् ।

आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबरजस्ती आफूहरुको जमिनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिनुभयो । यो सडक निर्माण हुने ठाउँमा गुठीको जमिन पर्ने भएकोले यो विषयमा सबै गाउँलेसँग सहमति गरेर मात्र अघि बढ्ने भने पनि निर्माण पक्षले जबरजस्ती गरेको उहाँले बताउनुभयो । उता निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले डोजरमा एक्कासी ढुंगामुढा गरेकोले झडपको स्थिति सिर्जना भएको आरोप लगाउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*