अदालतमा रोशनी शाहीको वयान, ‘प्रहरीको दबाबमा महराविरुद्ध उजुरी दिएकी हुँ’
निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लगाएकी रोशनी शाहीले प्रहरीलाई दिएको जाहेरी झुटो भएको बयान दिएकी छन्।
उनले प्रहरीले निवर्तमान सभामुख महराविरुद्ध जबरजस्ती उजुरी दिन दवाव दिएका कारण उजुरी दिएको पनि बयानमा उल्लेख गरेकी छन्।
काठमाडौं जिल्ला अदालतमा आइतबार आफैं उपस्थित भएकी रोशनीले न्यायाधीश बाबुराम सुवेदीको इजलासमा प्रहरीको करकापमा आफूले जाहेरी दिन बाध्य भएको लिखित बयान दिएकी हुन्।
अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार उनले प्रहरीको दवावका कारण आफूले जाहेरी दिएको र निवर्तमान सभामुख महरा निर्दोष रहेको उनले बयान दिएकी छन्।
पूर्व महान्यायधिवक्ता रमण श्रेष्ठले पनि रोशनीले अदालतमा प्रहरीमा दिएको उजुरीमा उल्लेख भए अनुसारका आफूमाथि कुनैप्रकारको दुव्र्यवहार नभएको भनी अदालतमा बयान दिएको बताए।
काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको छ।
अदालस्थित सरकारी वकिलको कार्यालयमा भएको बयानपछि महरालाई थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको हो।
आज आइतबार काठमाडाैं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासमा भएको बहसपछि प्रहरीले महरामाथि थप अनुसन्धान गर्न अरू पाँच दिन हिरासतमा राख्ने समय पाएको हो।
प्रहरीले अनुसन्धानका लागि थप ७ दिनको समय मागे पनि सुवेदीको इजलासले कात्तिक २ गतेदेखि कायम हुनेगरी ५ दिनको समय थप गरेको छ।
गत असोज १९ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। त्यसलगत्तै उनलाई पक्राउ गरिएको थियो। हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। मंगलबार उनलाई नर्भिकबाट सिधै जिल्ला अदालत लगिएको थियो।
महरामाथि यौन दुराचारको आरोप लगाएकी रोशनी शाहीले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा शनिबार जाहेरी दिएकी थिइन्।
महरालाई असोज १९ गते आइतबार साँझ ६ बजे सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो।
गत असोज १२ गते आइतबार साँझ रोशनीको तिनकुनेस्थित डेरामा पुगेका महराले राति पौने ९ बजे आफूमाथि यौन दुराचार गरेको तथा कुटपिटसमेत गरेको उनले आरोप लगाएकी छिन्।
महराले असोज १३ गते सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए। रोशनीले घटनाको ६ दिनपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा बलात्कारको प्रयास तथा कुटपिट गरेको उल्लेख गर्दै महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
प्रहरीका अनुसार रोशनीले असोज १७ शुक्रबारै स्वास्थ्य परीक्षण गराएकी थिइन्। त्यसअघि उनको कोठामा फेला परेका सामग्रीको फोरेन्सिक जाँच गरिसकिएको प्रहरीले बताएको छ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता ऐनको दफा ९ को उपदफा ३ अनुसार पक्राउ पूर्जी जारी गरेको हो।
कार्कीले उक्त ऐनको दफा ९ मा कसुरदारलाई पक्राउ गर्न सकिने व्यवस्था रहेको जानकारी दिएका छन्। नेपाल न्युजबाट साभार ।