चिनियाँ राष्ट्रपति काठमाडौं आइपुगे
काठमाण्डाै – २ दिने राजकीय भ्रमणको लागि चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आइपुग्नुभएको छ ।
उहाँ चढेको विमान केहिबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल पुगेर स्वागत गर्दै हुनुहुन्छ ।
रात्रिभोजमा सहभागी हुनेलाई पोशाकदेखि खानासम्मको नियम
नेपालको दुई दिने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाण्डौ आइपुग्दै हुनुहुन्छ । झण्डै २३ वर्षपछि चीनबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।
राष्ट्रपति सीको भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उहाँका नेपाली समकक्षी विद्यादेवी भण्डारी आफैँ विमानस्थलमा पुगेर उहाँको स्वागत गर्दै हुनुहुन्छ । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषद्का सबै सदस्य विमानस्थलमै पुगेर चिनियाँ राष्ट्रपति सीको स्वागत गर्ने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपतिको स्वागतमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले शनिबार साँझ रात्रिभोजको पनि आयोजना गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग रात्रिभोजमा सरिक हुनेले भने कडा अनुशासन पालना गर्नुपर्ने छ । रात्रिभोजमा सहभागी हुने पाहुनाहरुले पोशाकदेखि खाना खाने समयमा समेत ध्यान दिनुपर्ने छ ।
चिनियाँ राष्ट्रपति सीसँग रात्रिभोज गर्ने अतिथिलाई परराष्ट्र मन्त्रालयले पठाएको निमन्त्रणा पत्रसँगै पालना गर्नुपर्ने नियम पनि बुँदागतरुपमा उल्लेख गरेर पठाएको छ ।
रात्रिभोजमा सहभागी हुने नेपाली अतिथिहरुमध्ये पुरुषले राष्ट्रिय पोशाक दौरा, सुरुवाल र ढाका टोपी अनिवार्य लगाउनु पर्नेछ । राष्ट्रिय पोशाक नलगाउनेहरुले भने सेतो सर्ट र गाढा कालो रंगको सुट लगाउनु पर्नेछ । यस्तै जुत्तामा पनि एकरुपता कायम गरिएको छ । सहभागी नेपाली अतिथिहरुले तुना बाँध्ने छालाको कालो जुत्ता अनिवार्य लगाउनु पर्नेछ ।
महिलाको हकमा भने राष्ट्रिय पोशाक तथा सारी वा गाढा सुट लगाउनु पर्नेछ ।
सुरक्षा जाँचलाई उच्च प्राथमिकता दिइएका कारण रात्रिभोजमा सहभागी हुने अतिथिहरु निर्धारित समयभन्दा ४५ मिनेट अगावै उपस्थित भइदिन पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।
भोजका क्रममा मोबाइलफोन चलाउन, तस्बिर खिच्न मनाही गरिएको छ । यस्तै प्रमुख अतिथिको रुपमा रहनुभएका चीनका राष्ट्रपति सी जिनपिङले भोजन ग्रहण गर्न सुरु गरेपछि मात्रै अरुले सुरु गर्नुपर्ने पनि परराष्ट्रले पठाएको नियममा उल्लेख छ ।
भोज चलिरहेका बेला नउठिदिन र प्रमुख अतिथि हलबाहिर निस्किएपछि मात्रै उठ्न पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।
चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न सडकमा भव्य तयारी, दायाँबायाँ सुरक्षाकर्मी तैनाथ
चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उहाँ सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ ।
नेपाल सरकार, सुरक्षा निकाय, काठमाण्डौ महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारीलाई अन्तिम रुप दिएका हुन् ।
सडकको दायाँबायाँ सुरक्षाकर्मी तैनाथ गरिनुका साथै दुवै देशको झण्डा लिएर राष्ट्रसेवक कर्मचारी, युवा, विद्यार्थीलगायत सर्वसाधारण चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि प्रतिक्षारत छन् । उनीहरुले सीको सवारी मार्गमा ‘कर्तल’ ध्वनिका साथ स्वागत गर्नेछन् ।
धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएकोे छ । राष्ट्रपति सी त्रिभुवन विमानस्थलदेखि होटेल सोल्टीमा ‘कारगेट’ बाट पाल्नुहुने भएकाले ठाउँठाउँमा स्वागत ब्यानर र विभिन्न आकर्षक तस्बिर सजाइएको छ ।
यस्तै सीको स्वागतका लागि सडकमा विभिन्न भेषभुषामा सजिएका र विभिन्न बाजासहितका जनसमुदाय उपस्थित छन् भने राष्ट्रसेवक कर्मचारीसहित सर्वसाधारण स्वागतका लागि सडकका दुवै किनारमा उपस्थित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणमा आउन लाग्नुभएको हो ।
चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न कर्मचारीहरु सडकमा
चिनियाँ राष्ट्रपति सी जिनफिङलाई स्वागत गर्न निजामती कर्मचारीहरु सडकमा उपस्थित भएका छन् । कर्मचारीहरुलाई नयाँबानेश्वर–माइतीघर सडकखण्डमा खटाइएको छ । उनीहरुले नेपाल र चीनको राष्ट्रिय झण्डा बोकेका छन् ।
सरकारी कार्यालयहरुले चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि अनिवार्य तोकिएको स्थानमा उपस्थित हुन कर्मचारीहरुलाई निर्देशन दिएको थियो । कर्मचारीहरुलाई आइतबार पनि सोही स्थानमा उपस्थित भएर सीको विदाई गर्न निर्देशन दिइएको छ ।
दुईदिने औपचारिक भ्रमणका लागि शनिबार नेपाल आएका सी आइतबार अपराह्न स्वदेश फर्किने छन् ।
केही कर्मचारीहरु लामो समयको पर्खाइको कारण थकित भएर भुइँमा बसेको देखिन्छन् । केही कर्मचारीहरु भने खालि समयको सदुपयोग गर्दै सेल्फी खिचेका देखिन्छन् ।