चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण: त्रिभुवन विमानस्थलबाट हुने उडान दुई दिन प्रभावित हुने

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण दुई दिन प्रभावित हुने भएको छ ।चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाण्डौ अवतरण गर्ने कार्यतालिका छ । भारतको चेन्नई हुँदै काठमाण्डौ आइपुग्ने सी आइतबार १२ः३० मा स्वदेश फर्कनुहुनेछ ।
राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुमा रहेको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाण्डौमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । राष्ट्रपति सी सवार भीभीआईपी जेट विमान आउने बेला तीन घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान तथा अवतरण हुने छैनन् ।
राष्ट्रपति सी आउँदा र फर्कँदा दुवै समयमा त्रिभुवन विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिने छ । राष्ट्रपति सी आउने बेला ३ घण्टा र फर्कने बेला ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिने त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । राष्ट्रपति सी आउने दिन शनिबार दिउँसो ३ बजेदेखि नै विमानस्थलमा अन्य उडान र अवतरण ठप्प हुने छ । राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउनेछन् ।