सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या ११ पुग्यो

घाईतेहरुको हेलीकोप्टरबाट उद्धार ।
जनपत्र
२४ आश्विन २०७६, शुक्रबार १३:५२

सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने मध्ये इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल र  इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ । अन्पको पहिचान खुलिसकेको छैन ।

बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडकबाहिर अन्दाजी ६० मिटर तल खसेको थियो । दूर्घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

तस्बिर–प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको फेसबुकबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*