चिनियाँ राष्ट्रपति सीको स्वागतमा झकिझकाउ सडक

जनपत्र
२४ आश्विन २०७६, शुक्रबार १०:४९

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाण्डौका सडक झकिझकाउ पारिएको छ । सरकारले काठमाण्डौका विभिन्न ठाउँका सडक स्तरोन्नति गरेकोे छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भएको हो ।

दशैँ तिहारका समयमा बर्सेनि सडक सुधारका काम गरिँदै आएको भए पनि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै थप काम भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी सवार हुने सडकहरू नयाँ कालोपत्रेसहित चिल्लो बनाइएको छ । ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ ।

ठाउँठाउमा स्वागतद्वार बनाउने, सडक पुनःनिर्माणलाई तीव्रता दिने पार्कश आकर्षित गर्ने फूलका बिरुवा सार्ने तथा रङरोगन गर्ने काम तीव्र रूपमा भइरहेको छ । विभिन्न स्थानमा विश्वसम्पदा सूचीमा सूचीकृत र नेपालमा मौलिक संस्कृति झल्कने तस्बिर सहितको फ्लेक्स बनाएर राखिएको छ । राष्ट्रपति सीलाई नागरिकस्तरबाटसमेत भव्य स्वागतको तयारी छ ।

चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको सरकारले जनाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । सो क्षेत्रमा सुरक्षासहित आवश्यक तयारीस्वरूप रिहर्सलसमेत भइरहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*