मकवानपुरको भिमफेदी कारागारमा आफन्तको भीड

मकवानपुर — मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित बोटबारी सुनसान जस्तै छ । सहरदेखि गाउँघरसम्म दसैंले धपक्कै छोपे पनि यो गाउँमा दसैंको रौनकता छैन । बोटबारीका अधिकांश युवा वैदेशिक रोजगारीमा गएका छन् । बाँकी गाउँमा भएका युवाहरू पनि लागूऔषधलगायत अन्य मुद्दामा कारागारमा कैदी जीवन बिताइरहेका छन् ।
‘दुई छोरी बिहे भएर गइसके एक भाइ छोरा विदेशमा छ, अर्को जेलमा’, बोटबारीका ६३ वर्षीय देवी चेपाङले भने, ‘यसपालिको दसैंमा पनि हामी बुढाबुढी मात्रै हुनेभयौं ।’ यहाँका बुढापाकालाई चाडपर्व आउँदा सन्तानको चिन्ताले पीडा दिन्छ । ‘ज्याला मजदुरीका लागि शहर गएका केही युवा फर्कंदै छन्, तर बाँकी युवा बिभिन्न मुद्दामा जेलमा छन्’, राक्सिराङ वडा ८ का अध्यक्ष रामकृष्ण चेपाङले भने, ‘यो दसैंमा पनि गाउँघर बुढापाकाले मात्र भरिनेभयो ।’
गाउँघर शून्य भए पनि क्षेत्रीय कारागार भीमफेदी भने दसैं रौनकले छोपिएको छ । आफन्तले ल्याइदिएको दसैं भागले कारागारमा खानेकुराको पनि कमि छैन । कारागारभित्र दसैंको स्वागत गेट निर्माण, ध्वजा पतकाले सजाउनेदेखि सरसफाइमा कैदीबन्दीहरू ब्यस्त छन् । कारागारको ‘क’ ब्लकका नाइके सुरेश मोक्तानलाई कैदीबन्दी भेट्न आउने आफन्तको समय मिलाउन भ्याइ नभ्याई छ ।
कारागारभित्रका आफन्तलाई दसैं भाग पुर्याउन आएका मकवानपुर कैलाश गाउँपालिकाकी सकुन्तला ब्लोन कारागारभित्र पुग्दा गाउँमा छु की कारागारमा भन्ने अन्योलमा परिन् । ‘मलाई गाउँकै कुनै भोजरकार्यक्रममा पुगेजस्तो भयो’, उनले भनिन्, ‘गाउँका धेरै आफन्त कारागारमा भेट्दा खुसी पनि लाग्यो, दुस्ख पनि ।’
भरिभराउ र दसैंको रौनकले छाएको कारागारभित्र कैदीबन्दीको मन भने खुसी छैन । ‘गाउँघरमा धेरै साथीभाइ पनि छन्, खानेकुराको पनि समस्या छैन तर चाडबाडमा आफ्नो गाउँघरमा जस्तो कहाँ हुन्छ र’, लागूऔषध मुद्धामा कैद भुक्तान गरिरहेका मकवानपुर राक्सिराङका मनदीप लामाले भने, ‘सायद अर्को वर्ष दसैं गाउँमै मनाउन पाइएला ।’
झट्ट कोही पुग्दा मकवानपुरको कुनै गाउँ झल्को दिने भीमफेदी कागारारमा हाल ९ सय ९४ कैदीबन्दी छन् । तीमध्ये ६० प्रतिशत मकवानपुरका मात्र रहेको कारागार कार्यालयको तथ्याङ्क छ । मकवानपुरका अधिकांश पश्चिमी मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाका कैदीबन्दी रहेको कारागारका निमित्त प्रमुख केदारप्रसाद सापकोटाले बताए । अधिकांश युवाहरू कैदीको रुपमा कारागारमा रहेका कारण राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिको टोलीले कारागारमै पुगेर खाद्यान्न हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङलगायतको टोली दुई वटा खसी, चिउरा, चामल, तेल, फलफूल र अन्य खानेकुरा बोकेर त्यहा पुगेका थिए ।
‘गाउँमा भन्दा बढी युवा कारागारमा छन्, त्यही भएर उनीहरूलाई भेट्न र दसैंको शुभकामना दिन यहाँ आएका हौं’, गाउँपालिका अध्यक्ष मल्लले भने, ‘लागूऔषध गाँजाले गर्दा गाउघर सुनसान छ, कारागार भरिभराउ भएको छ । भीमफेदी कारागारमा सबैभन्दा बढी लागूऔषध मुद्दाका ३ सय ७९ कैदीबन्दी छन् । लागूऔषधपछि जर्बजस्ती करणीका २ सय १५ कैदीबन्दी रहेको कारागारको तथ्याङ्क छ । कारागारमा रहेकामध्ये ८३ विदेशी छन् । यहाँ महिला कैदीबन्दी भने राखिएका छैनन् । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।