दाङमा नुहाउन गएका दुई किशोरीको डुबेर मृत्यु

नुहाउन भनि खोलामा गएका दुई किशोरीको बिहीबार डुबेर मृत्यु भएको छ। लमही नगरपालिका वडा नं. ९ निवासी १४ वर्षीया टीका घर्ती र घोराही उपमहानगरपालिका वडा नं। १० नारायणपुर निवासी १५ वर्षीया निरु बोहोराको नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। लमही नगरपालिका वडा नं. ९ स्थित सिमलसोता खोलामा नुहाउन भनि गएका उनीहरूको पौडी खेल्ने क्रममा डुब्न पुगेका थिए।
जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहमा अनुसार बेलुका साढे ५ बजेतिर उनीहरू खोलामा डुबेका थिए।स्थानीय र प्रहरीले उद्धार गरी दुवै किशोरीलाई लमहीस्थित अस्पतालमा पुर्याए पनि पौने ७ बजेतिर अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको थियो। बोहोरा विद्यालय बिदा भएको हुँदा लमहीस्थित ठूली आमाको घरमा पाहुना गएकी थिइन्। मृतक घर्ती लमहीमा र बोहोरा नारायणपुरमा कक्षा ९ मा अध्ययनरत खुल्न आएको छ। दुवै किशोरीको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।