हेटौंडामा प्लाष्टिकजन्य पदार्थ प्रयोग गर्ने उद्योगबाट वातावरणीय शुल्क उठाउने विषयमा अन्तरक्रिया

हेटौंडा । डिभिजन वन कार्यालय मकवानपुरको आयोजनामा प्लाष्टिकजन्य पदार्थ प्रयोग गर्ने उद्योगहरूमाथि वातावरणीय सेवा शुल्क लागू गर्ने विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। हेटौंडास्थित वन तथा वातावरण मन्त्रालयको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरकारी निकाय, मकवानपुर उद्योग बाणिज्यसंघ, उद्योग संघ र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।
डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीको अध्यक्षतामा तथा बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै सचिव बरालले प्लाष्टिकका कारण वातावरणमा पर्न सक्ने दीर्घकालीन असरबारे जानकारी दिँदै उद्योगहरूबाट उत्पन्न हुने फोहर व्यवस्थापनका लागि साझा पहल आवश्यक रहेको बताए। प्लाष्टिकजन्य पदार्थ प्रयोग गर्ने उद्योगहरूमाथि वातावरणीय सेवा शुल्क लागू गर्ने कानूनका अब्याबहारीक विषय संशोधन गर्दै लैजाने र कानून कार्यान्यनको पाटोमा पनि काम गरिने बताए ।
उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माले वातावरणीय शुल्कका नाममा अनावश्यक बोझ नथपिने गरी व्यावहारिक ढाँचामा नीति निर्माण गर्न आग्रह गरे।
वागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोख्रेल र उपाध्यक्ष स्वागत राज प्याकुरेलले वातावरण संरक्षण र औद्योगिक विकासलाई सन्तुलनमा राख्दै शुल्क निर्धारण हुनुपर्ने र अहिले निर्धारण गरिएको शुल्क अब्याबहारीक भएको बताए ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष प्रमोदसिंह रानाभाट लगायतकाले यस विषयमा आफ्ना सुझाबहरु राखेका थिए । कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतमले प्लाष्टिकजन्य पदार्थ प्रयोग गर्ने उद्योगहरूमाथि वातावरणीय सेवा शुल्क लागू गर्ने विषयमा प्रस्तुतीकरण गरेका थिए ।