प्लास्टिक नियन्त्रणमा वन कार्यालयको सक्रियता, सचेतनादेखि पुनःप्रयोगसम्म

जनपत्र
१८ असार २०८२, बुधबार ०८:३८

हेटौंडा । फोहोरले जंगलै ढाक्न थालेपछि, डिभिजन वन कार्यालय मकवानपुरले प्लास्टिक नियन्त्रणको मोर्चामा सक्रियता देखाएको छ। जंगलभित्र प्लास्टिकजन्य फोहोरले वन्यजन्तुको बासस्थानदेखि जैविक प्रणालीसम्ममा असर गर्न थालेपछि वन कार्यालयले ‘जंगलमै स्वच्छता’ अभियान सुरु गरेको हो।

पछिल्ला तीन वर्षयता यो कार्यालयले प्लास्टिक संकलन, सचेतना, पुनःप्रयोग र नीति समन्वयमार्फत् समस्या न्यूनीकरणका प्रयास गरेको छ। मकवानपुरका सामुदायिक वन उपभोक्ता समूह, विद्यालय, स्थानीय तह र वातावरणसम्बन्धी संस्थाहरूसँगको सहकार्यमार्फत् सञ्चालन भएका कार्यक्रमले ठूला परिणाम दिन थालेका छन्।

हेटौंडा उपमहानगरपालिका भित्र रहेका सामुदायिक वनहरूमा फोहोरजन्य वस्तु विशेषगरी प्लास्टिकको मात्रा बढेको थियो। बासी खाजाका प्लास्टिक खोल, बिस्कुटका प्याकेट, प्लास्टिक बोतल, र झोलाहरू खोल्सा हुँदै जंगलभित्र पस्न थालेका थिए।

“प्लास्टिक न त माटोमा मिल्छ, न त बिउ उब्जाउन दिन्छ। बाँदर, बँदेलले खाएपछि बिरामी पर्छन्, कतिपय मर्छन्,” वन समुहका पदाधिकारीहरु भन्छन्– “यो देखेर हामी नै डरायौं, अनि वन कार्यालयसँग माग गर्यौं।”

‘वनमै प्लास्टिकमुक्त अभियान’

२०७९ सालको सुरुवाततिर डिभिजन वन कार्यालय मकवानपुरले ‘वनमै प्लास्टिकमुक्त अभियान’ सुरु गरेको थियो। यो अभियानअन्तर्गत, सुरुवातमा सामुदायिक वनहरूमा सफाइ कार्यक्रम गरियो।
त्यसपछि, हरेक सामुदायिक वन उपभोक्ता समूहलाई प्लास्टिक संकलन केन्द्र निर्माणका लागि प्राविधिक सहायता उपलब्ध गराइयो। डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बसन्तराज गौतम भन्छन्– “हामीले प्लाष्टिक नियन्त्रणका लागि स्थानीय सरकारसंगको सहकार्यमा सचेतनामुलक कामहरु गर्दै छौं । सामुदायिक वनका नेतृत्वलाई नै सक्रिय बनायौं। उनीहरूले स्वयं जिम्मा लिएका कारण प्लास्टिक नियन्त्रणको अभियान ठिकै छ।”

अभियानमा विद्यालयहरूलाई पनि जोडिएको छ। बिद्यार्थीहरुलाई सचेतना गराइरहेको छ । विद्यालयहरूमा विद्यार्थीलाई प्लास्टिकजन्य वस्तु विद्यालयमा नल्याउने शिक्षा दिइएको छ। साथै चित्रकला, कविता प्रतियोगिता, वक्तृत्वकला, क्विज आदि कार्यक्रममार्फत् प्लास्टिकको असरबारे सचेतना फैलाइएको मकवानपुरगढी गाउँपालिकाका शिक्षकहरु बताउँछन् ।

प्लास्टिक नियन्त्रणको अर्को पाटो हो—पुनःप्रयोग। यसका लागि डिभिजन वन कार्यालयले केही सामुदायिक समूहलाई प्लास्टिकबाट सजिलै पुनःप्रयोग गर्न मिल्ने सामग्री उत्पादन गर्न सकिने बताएको छ।

“फोहर व्यवस्थापन भनेको केवल उठाउने काम होइन। त्यसपछि के गर्ने भन्ने रणनीति पनि हुनुपर्छ,” डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत हेम कुमार पाठक भन्छन्।

सप्ताहिक ‘प्लास्टिक सरसफाइ दिवस’ कार्यक्रम स्थानीय तहसँगको समन्वयमा सञ्चालन हुँदै आएको छ। हेटौंडा उपमहानगरपालिकाले हप्तामा तीन दिन घरघरबाटनै फोहोर संकलन गरेर “फोहोरमुक्त उपमहानगर” भन्ने नारासहित प्लास्टिक सरसफाइ अभियान चलाउँदै आएको छ।

मनहरी गाउँपालिकासँगको सहकार्यमा सामुदायिक वन छेउमा सचेतना बोर्ड राखिएको छ। “प्लास्टिक ल्याउन निषेध”, “जंगलमा फोहोर नगर्नुहोस्” जस्ता सन्देश युक्त बोर्डले भ्रमणकर्तालाई सचेत गराउने कार्य गरेको छ। यद्यपि यी प्रयासहरूले सकारात्मक परिणाम दिन थाले पनि समस्या अझै ज्यूँ–का–त्यूँ रहेको कार्यालय स्वीकार गर्छ।

प्लास्टिकजन्य वस्तुको व्यापक प्रयोग अझै रोकिएको छैन। सबै सामुदायिक वनहरूमा संकलन केन्द्र स्थापना गर्न बाँकी छ। पुनःप्रक्रिया गर्ने स्थानको संख्या सीमित छ। जनताको सोचमा परिवर्तन ल्याउन थप समय लाग्ने देखिन्छ। “हामी प्रयास गरिरहेका छौं, तर यो दीर्घकालीन काम हो। वनमा फोहोर पुग्दैन भनेर सुनिश्चित गर्न हामी सबैले जिम्मा लिनुपर्छ,” वन अधिकृत गौतम बताउँछन्।

प्लास्टिक नियन्त्रण केवल एक सरकारी कार्यक्रम होइन, यो साझा प्रयासको नतिजा हो। डिभिजन वन कार्यालय मकवानपुरले सामुदायिक सहभागितामार्फत् थालनी गरेको अभियानले संकेत गरिरहेको छ—चाहे सहर होस् या वन, हरियाली कायम राख्नका लागि फोहोर हटाउनैपर्छ।

जब कार्यालय, समूह, विद्यालय, स्थानीय तह र नागरिक सबै एकै लक्ष्यमा लाग्छन्, तब मात्र प्रकृति सुरक्षित रहन्छ। मकवानपुरको यो प्रयास अब देशभरका अन्य जिल्लाका लागि पनि उदाहरण बन्ने दिशामा अघि बढेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*