बागमती प्रदेशका युवाः अपेक्षा, अवसर र चुनौतीको समग्र चित्र

जनपत्र
११ असार २०८२, बुधबार ०५:२४

बागमती प्रदेश नेपालको सबैभन्दा बढी जनसंख्या भएको प्रदेश हो । राजधानी काठमाडौँ समेटिएको यो प्रदेशमा युवा शक्ति सघन छ । शिक्षित, उत्साही र आधुनिक चेतनाले भरिएका युवाहरू बागमती प्रदेशको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका मुख्य चालकका रूपमा अघि बढ्न सक्ने क्षमता राख्छन् । तर, समग्र रूपले हेर्दा अझै पनि उनीहरूका विषयमा नीति, कार्यक्रम र सोचले अपेक्षित दिशा समात्न सकेको छैन । यही पृष्ठभूमिमा बागमती प्रदेशभित्रका युवाहरूका विषयमा  उनीहरूको वर्तमान अवस्था, सरकारी र सामाजिक पहल, चुनौती र समाधानका सम्भावनासहित ।

 युवा अवस्था र संरचना

बागमती प्रदेशमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या करिब ३० लाखको हाराहारीमा अनुमान गरिन्छ, जुन कुल जनसंख्याको एक ठूलो हिस्सा हो । ग्रामीण क्षेत्रका युवा खेतीपाती, पशुपालन र वैदेशिक रोजगारमा संलग्न छन् भने शहरी क्षेत्रका युवा शिक्षित, स्वरोजगार, व्यवसाय, सरकारी सेवा, निजी क्षेत्रमा कार्यरत छन् । काठमाडौँ, हेटौंडा, भरतपुर, बनेपा, धुलिखेल, ललितपुर जस्ता शहरहरूले शिक्षा, प्रविधि, स्वास्थ्य र सञ्चारजस्ता क्षेत्रमा अवसर निर्माण गरे तापनि ती अवसरहरू सबै युवासम्म समानरूपमा पुग्न सकेका छैनन् ।

शिक्षा र प्रविधिमा सहज पहुँच भएका शहरी युवाको सोच, सपना र योजना ठूलो देखिन्छ । उनीहरू स्टार्टअप, इनोभेसन, डिजिटल मार्केटिङ, आर्टिफिसियल इन्टेलिजेन्सजस्ता क्षेत्रमा पनि लागेका छन् । तर, ग्रामीण क्षेत्रका युवाहरू अझै पनि सहर पस्ने, रोजगारी खोज्ने, काम नपाए वैदेशिक रोजगारको बाटो समाउने बाध्यतामा छन् । यही असमानताको भित्र चिच्याइरहेछ – बागमतीका युवाको आवाज ।

सरकारी संरचना र प्रयास

प्रदेश सरकारले युवाका लागि छुट्टै मन्त्रालय बनाएको छैन । युवा सम्बन्धी नीति तथा कार्यक्रमहरू प्रदेश युवा परिषद्, सामाजिक विकास मन्त्रालय तथा स्थानीय तह अन्तर्गत सञ्चालन भइरहेका छन् । प्रदेश युवा परिषद्ले बर्सेनि युवाका लागि अनुदानमुखी उद्यम कार्यक्रम सञ्चालन गर्ने, तालिम दिने, युवा नवप्रवर्तन ९इनोभेसन०लाई प्रोत्साहन गर्ने काम गर्दै आएको छ । उदाहरणका लागि, चितवनका युवालाई कृषि–उद्यम तालिम दिएर नर्सरी खोल्न प्रेरित गरिनु, मकवानपुरमा सुजाता राना, स्वस्तिका थापा, सुमन ढुंगेल जस्ता युवालाई नर्सरी, डेरी तथा सौन्दर्य प्रसाधन उद्योग सञ्चालनका लागि प्रवर्द्धन गरिनु उल्लेखनीय छन् ।

साथै, स्थानीय तहहरूमार्फत विभिन्न सीप तालिम, स्वरोजगार अनुदान कार्यक्रम पनि सञ्चालन भएका छन् । काभ्रे, रामेछाप, सिन्धुलीका थुप्रै युवाहरूले गाईपालन, मौरीपालन, कुकुरपालन, ट्याक्टर सेवा, ब्यूटी पार्लर, रेडिमेड पसललगायत क्षेत्रमा लगानी गरिरहेका छन् । यस्ता प्रयासबाट केही युवाले सफलता पाएका छन्, तर ठूला संख्याका युवामा यस्ता कार्यक्रमको पहुँच छैन ।

वैदेशिक रोजगारी र विस्थापन

बागमती प्रदेशका अधिकांश ग्रामीण युवा साउदी, कतार, युएई, मलेसिया, कोरिया, जापानजस्ता मुलुकहरूमा रोजगारीका लागि गएका छन् । कम समयमा धेरै आम्दानी हुने आशामा जोखिम मोलेर गएका युवाले केही पैसा कमाएका छन्, तर कैयौँजना अपाङ्ग भएर, क्षतविक्षत भएर वा मृत शरीर बनेर फर्किएका छन् । वैदेशिक रोजगारीको लालसाले परिवार र समुदायको संरचना नै परिवर्तन गरिरहेको छ ।

आफ्नो जन्मभूमिमा केही गर्ने वातावरण नपाएर युवाले विदेश जानुपर्ने अवस्था आफैँमा गम्भीर हो । शिक्षित युवाको विदेशी पलायनले ‘ब्रेन ड्रेन’ सिर्जना गरिरहेको छ । नर्सिङ, इञ्जिनियरिङ, आइटी, मेडिकल शिक्षा लिएका धेरै युवा विदेशिएर फर्कन नमान्ने अवस्था देशकै सम्पत्तिमा चोट हो । यदि उनीहरूका लागि उचित कामको वातावरण बागमती प्रदेशमा तयार पार्न सकियो भने यसको परिणाम प्रदेशको समृद्धिमा प्रत्यक्ष देखिनेछ ।

राजनीतिक चेत र आशा

बागमतीका युवा राजनीतिक चेतनाका हिसाबले सचेत छन् । तर, राजनीतिक दलप्रति उनीहरूको विश्वास भने निरन्तर घट्दो छ । युवाहरू परिवर्तन चाहन्छन्, तर त्यही परिवर्तनका प्रतिनिधिका रूपमा अघि बढ्न राजनीतिक पार्टीले उनीहरूलाई धेरै मौका नदिएको महसुस गर्छन् । केही युवाहरू स्वतन्त्र राजनीतिक धारमा लागेका छन् — नगर प्रमुखदेखि वडाध्यक्षसम्म स्वतन्त्र युवा उम्मेदवारहरू चुनिँदा जनताले नयाँ सोच खोजेको देखिन्छ ।

विद्यार्थी राजनीति, युवा संगठन, सामाजिक आन्दोलन र नागरिक सञ्जालमा सक्रिय युवाले शैक्षिक सुधार, भ्रष्टाचार विरुद्धको आवाज, लैङ्गिक समानता, एलजिबिटी अधिकार, जलवायु न्याय जस्ता नयाँ एजेन्डा अघि सारेका छन् । उनीहरूको ऊर्जा र चेतना समाहित गर्ने गरी नीति निर्माण गर्न नसक्दा उनीहरू स्वतन्त्र आन्दोलन र वैकल्पिक शक्तिको खोजीमा लागेका छन् ।

स्वरोजगार र उद्यमशीलता

बागमतीका युवाहरू स्वरोजगारको बाटोमा अघि बढ्दैछन् । कृषिमा आधुनिकता भित्र्याउँदै ‘कृषि एक उद्यम हो’ भन्ने सोचले खेती, डेरी, पोल्ट्री, बाख्रापालन, मौरीपालन, नर्सरी, मत्स्यपालनमा ठूला लगानी हुन थालेका छन् । टेक्निकल पढेका युवाहरूले मेशिनरी, मोबाइल मर्मत, इलेक्ट्रिक सर्भिस, प्लम्बिङ, मोटरबाइक वर्कसप, अनलाइन व्यापार, युट्युब सामग्री उत्पादन, अनलाइन शिक्षणजस्ता क्षेत्रमा पनि आफूलाई स्थापित गरेका छन् ।

बागमती प्रदेश सरकारले अनुदान तथा सहुलियत ऋणमार्फत युवा उद्यमशिलता प्रवर्द्धन गर्ने कार्य थालेको छ । त्यसमा पहुँच बनाउने, व्यवसाय दर्ता गर्न सजिलो बनाउने, कर प्रणालीमा छुट दिने, बजार पहुँच गराउने जस्ता उपाय प्रभावकारी बनाइँदा धेरै युवा आत्मनिर्भर बन्न सक्नेछन् ।

मानसिक स्वास्थ्य र आन्तरिक संघर्ष

आजका युवाहरू भौतिक रूपमा देख्दा उर्जावान देखिए पनि भित्री रूपमा थुप्रै द्वन्द्वमा छन् । बेरोजगारी, आर्थिक अभाव, वैदेशिक रोजगारीको दवाब, पारिवारिक अपेक्षा, सम्बन्धको विफलता, डिजिटल डिपेन्डेन्सी र चिन्ताले उनीहरूमा मानसिक असन्तुलन बढ्दै गएको छ । काठमाडौं उपत्यकामा दैनिकजसो हुने आत्महत्याका घटनाले यो संकटको गम्भीरता देखाउँछ ।

मानसिक स्वास्थ्यबारे चेतना फैलाउने, परामर्श सेवा दिनुपर्ने, विद्यालय, क्याम्पस र युवामुखी केन्द्रहरूमा साइकोलोजिकल काउन्सेलिङ आवश्यक छ । युवाहरूका लागि ‘सेफ स्पेस’ निर्माण गर्नु अबको प्राथमिकता हुनुपर्छ, जहाँ उनीहरू आफ्ना कुराहरू निडर रूपमा राख्न सकून् ।

 लैङ्गिक असमानता र समावेशीता

बागमतीका महिला युवाहरूको अवस्था अझ चुनौतीपूर्ण छ । धेरै महिला युवाहरू विवाहपछि शिक्षाबाट वञ्चित हुन्छन्, गर्भावस्थामा काम गर्न सक्दिनन्, र घरभित्र सिमित हुन्छन् । ग्रामीण क्षेत्रमा अझै पनि छोरीलाई शिक्षा नदिने प्रवृत्ति विद्यमान छ ।

तर, त्यसको विपरीत उदाहरण पनि छन् — हेटौंडाकी पातलीमाया रुम्बा, ललितपुरकी सुनिता महर्जन, काभ्रेकै भकुण्डेबसीकी मञ्जु धितालले आत्मनिर्भर बन्न संघर्ष गरेका छन् । महिला उद्यमशीलता बढाउन महिला लक्षित कार्यक्रमको विस्तार गर्न आवश्यक छ । साथै, एलजिबिटीक्यू समुदायका युवाहरूको अधिकार, अवसर र आत्मसम्मानका लागि विशेष कार्यक्रम बनाउनुपर्ने छ ।

सूचना, प्रविधि र डिजिटल पहुँच

युवाको सबैभन्दा बलियो पक्ष हो — प्रविधिमा रुचि । बागमतीका युवाहरू मोबाइल, इन्टरनेट, एप्स, डिजिटिल प्लेटफर्महरूमा सहज छन् । केही युवाहरूले अनलाइन व्यापार, युट्युब च्यानल, अनलाइन शिक्षणजस्ता माध्यमबाट आम्दानी पनि गर्न थालेका छन् । डिजिटल पहुँच बढ्दा उनीहरूको विश्वसँगको सम्बन्ध प्रगाढ भएको छ ।

तर, सबै जिल्लामा इन्टरनेट पहुँच समान छैन । रामेछाप, रसुवा, सिन्धुपाल्चोक जस्ता पहाडी जिल्लाका युवाहरू अझै इन्टरनेटको गुणस्तरीय पहुँचबाट वञ्चित छन् । डिजिटल शिक्षामा लैजान शैक्षिक संस्थाहरूको भूमिका अपरिहार्य छ । बागमती सरकारले ‘डिजिटल बागमती युवा योजना’ ल्याएर शिक्षा, तालिम, रोजगारी, स्वास्थ्य, कृषि, व्यवसाय सबैमा प्रविधिमैत्रीकरण गर्न सके नयाँ मोडेल स्थापना हुन सक्छ ।

 खेलकुद, साहित्य र सिर्जनशीलता

युवा केवल आर्थिक क्रियाकलापमा मात्र होइन, सिर्जनामा पनि अगाडि छन् । बागमती प्रदेशमा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, ब्याडमिन्टन लगायत खेलका गतिविधिमा संलग्न युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुगेका छन् । कविता लेख्ने, गीत गाउँने, टिकटकररिल्स बनाउने, अभिनय गर्ने युवाहरूको संख्या निकै ठूलो छ । हेटौंडा, भरतपुर, धुलिखेल, चन्द्रागिरी, बनेपाजस्ता शहरहरूमा स्थानीय युवा मञ्चहरू सक्रिय छन् ।

सरकारले यी सिर्जनात्मक क्षेत्रलाई व्यवसायीक बनाउन सहयोग गर्नुपर्छ । युवालाई ‘आर्ट्स एण्ड क्रिएटिभ इकोनोमी’मा प्रवेश गराउने नीति आवश्यक छ, जसले उनीहरूको प्रतिभा आम्दानीमा परिणत गरिदिन सक्छ ।

 युवा नै परिवर्तनका मूलधार

बागमती प्रदेशका युवामा उत्साह छ, तर अवसरको न्यूनता छ । उनीहरू चाहन्छन् — देशमै केही गरौं, आफ्नै माटोमा उभिऔं, आफ्नो सपना आफैँ पूरा गरौं । तर, त्यो सपना पूरा गर्न राज्यको संयोजन, कार्यक्रमको पहुँच, नीति निर्माताको समवेदनशीलता र निजी क्षेत्रको सहकार्य अपरिहार्य छ ।

यदि बागमती सरकारले युवालाई लक्ष्य गरेर स्पष्ट दीर्घकालीन योजना ल्याउन सक्यो भने— जस्तै स् युवा व्यवसाय बीमा, तालिम–रोजगारी जोड्ने कार्यक्रम, इनोभेसन स्टार्टअप हब, डिजिटल हब, स्पोर्ट्स स्कलरसिप, मानसिक स्वास्थ्य सेवा, लैङ्गिक समानतामा आधारित अवसर— भने यो प्रदेश युवामैत्री मात्र होइन, देशका लागि ‘युवा उत्पादन गर्ने शक्ति केन्द्र’ बन्न सक्नेछ ।

कहिलेकाहीँ सोचिन्छ — युवालाई के दिन सकिन्छ रु तर, अब प्रश्न उल्टो हुनुपर्छ — युवाबाट के लिन सकिन्छ रु किनभने उनीहरू केवल बोझ होइनन्, यिनै युवा बागमतीको भोलिका आधारस्तम्भ हुन् ।

बागमती प्रदेश युवा परिषद्ले प्रदेशभित्रका युवाका सवाललाई सम्बोधन गर्न विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । परिषद्ले विशेषगरी युवाको स्वरोजगार, सीप विकास, नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धनमा ध्यान केन्द्रित गर्दै आएको छ ।

यस अन्तर्गत युवालाई लक्षित गरेर व्यावसायिक तथा प्राविधिक तालिम, विभिन्न प्रकारका स्टार्टअप र नवप्रवर्तन योजनामा अनुदान उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको छ । ‘युवा उद्यमशीलता अनुदान कार्यक्रम’ मार्फत कृषि, पशुपालन, सेवा, प्रविधि, हस्तकलाजस्ता क्षेत्रमा काम गर्न इच्छुक युवालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरिएको छ । विशेष गरी ग्रामीण तथा पिछडिएका समुदायका युवालाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, युवामैत्री नीति निर्माणका लागि अनुसन्धान, अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रमहरू पनि गरिएका छन् । परिषद्ले जिल्लास्तरमा युवासँग प्रत्यक्ष संवाद, सफल युवा उद्यमीहरूको पहिचान र प्रचार, सामाजिक अभियन्ताहरूको संलग्नता बढाउने कार्यसमेत गरिरहेको छ ।

यी प्रयासहरूले युवालाई आत्मनिर्भर, सिर्जनशील र उद्यमशील बनाउने दिशामा सकारात्मक संकेत दिएका छन्, यद्यपि अझ प्रभावकारिता र पहुँच विस्तारको खाँचो भने कायम नै छ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*