‘जम्मू काश्मीरमा १४४ बालबालिका पक्राउ’

भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको खुलासा भएको छ । भारतको संविधानको धारा ३७० खारेज गरेर विशेष राज्यको दर्जा खोसेपछि ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा लिएको पाइएको हो । जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल जस्टिस कमिटीले सर्वोच्च अदालतमा पेश गरेको रिपोर्टमा बालबालिकाहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख छ ।
भारतले २० साउनमा संविधानको धारा ३७० खारेज गर्दै जम्मू काश्मीरको विशेष राज्यको दर्जा खोसेको थियो । विशेष राज्यको दर्जा खोस्नुअघि भारतले सैनिक परिचालन गरेर त्यहाँ व्यापक धरपकड गरेको थियो । कश्मीरी नेताहरुलाई गिरफ्तार गर्दै मोबाइल तथा इन्टरनेट सेवासमेत बन्द गराइएको थियो ।