महोत्तरीमा बौलाहा कुकुरको आतंक, एकैदिन ५० जनाभन्दा बढी घाइते

जनपत्र
१५ आश्विन २०७६, बुधबार ०६:०३

महोत्तरीमा बौलाहा कुकुरको टोकाइबाट मंगलबार एकै दिन ५० जनाभन्दा बढी घाइते भएका छन्। अस्पतालका अनुसार महोत्तरीको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका, जलेश्वर नगरपालिकासहितका स्थानमा बौलाहा कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी घाइते भएका हुन्।

बौलाहा कुकुरको टोकाइबाट घाइते भएकाहरूको जलेश्वर अस्पतालमा सामान्य उपचारपछि जनकपुर अञ्चल अस्पताल रिफर गरिएको अस्पतालका फिजिसियन डाक्टर मृत्युञ्जय ठाकुरले जानकारी दिए। डा। ठाकुरका अनुसार अस्पतालमा आवश्यक औषधि एआरभी र इम्युनोग्लोबलिन इन्जेक्सन उपलब्ध नभएका कारण उनीहरूलाई जनकपुर अञ्चल अस्पतालमा रिफर गरिएको हो।

कुकुरको टोकाइबाट घाईते भएकाहरू मंगलबार दिउँसो दुई बजेदेखि अस्पतालमा उपचार गराउन आएको ठाकुरले बताए।उनका अनुसार सुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामा घाइते भएकाहरू आए पनि साँझदेखि महोत्तरीको विभिन्न स्थानबाट उपचार गराउन आइरहेका हुन्। बौलाहा कुकुरले सुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामै २० जनाभन्दा बढी व्यक्तिलाई टोकेको थियो।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले कुकुरका कारण ज्यानै जोखिममा परेपछि कुकुरलाई गोली नै हान्न निर्देशन दिएको बताए। अधिकारीका अनुसार कुकुर मार्न बीस जनाको संख्यामा प्रहरी टोली नै खटाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*