नेपाल-चीन जोड्ने सडक विस्तार सुरु, दुई लेनको बनाइँदै, नेपालको काम बाँकी

चिनियाँ नाकासम्म पुग्ने रसुवागढी-स्याफ्रुबेंसी सडक स्तरोन्नतिको काम सुरु भएको छ। गोसाईंकुण्ड गाउँपालिकास्थित घट्टेखोलामा शनिवार चिनियाँ र नेपाली अधिकारीहरुले रिबन काटेर औपचारिक रुपमा सडक स्तरोन्नतिको काम सुरु गरेका छन्। चीनको तर्फबाट चाइना तिब्बत इन्टरनेशनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टरको निर्देशक, निर्माण कम्पनीको प्रोजेक्ट म्यानेजर र नेपालका तर्फबाट विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा लगायतले रिबन काटेर सडक विस्तार शुरु गरेका हुन्।
सडक विस्तार शुरु गरिएको भए पनि साइटका काम भने अक्टोबर ८ बाट सुरु हुने गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार यो अवधिमा चिनियाँ निर्माण कम्पनीले साइटमा क्याम्प राख्ने, इक्विपमेन्टहरु ल्याउने लगायत पूर्वतयारीका कामहरु सक्नेछन्। नेपालका तर्फबाट सडक सिमानामा पर्ने घरटहरा, रुख, विद्युतका पोलहरु हटाउने, जग्गा अधिग्रहण गर्ने, मुआब्जा वितरण गर्ने लगायतका काम हुनेछ।
चिनियाँ कम्पनीले निर्माण गर्ने भए पनि नेपालले साइट क्लियर गरेर दिनुपर्ने छ। करिब ८२ वटा घरटहरा, ३२३ वटा बिजुलीका पोल हटाउनु पर्नेछ। साइट क्लियर गर्ने काम शुरु भैसकेको भण्डारीले जानकारी दिएका छन्। महाशाखा प्रमुख थापाले स्याफ्रुबेसी(रसुवागढी सडक निर्माणपछि नेपाल र चीनको सम्बन्धलाई थप उचाइमा पुर्याउन सघाउने दाबी गरेका छन्। उनले चीनले कोदारी राजमार्ग, काठमाडौं चक्रपथ लगायत सडक निर्माण, भूकम्पले क्षति पुर्याएका पुरातात्विक सम्पदा पुनर्निर्माण तथा विकासमा सघाउँदै आएको बताए।