१२ वर्ष लगाएर मकवानपुरको कुलेखानी तेस्रो सम्पन्न

जनपत्र
१४ आश्विन २०७६, मंगलवार ०६:१३

आयोजना निर्माण शुरू गरेको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोडिँदै छ । सञ्चालन पूर्वका सबै परीक्षण सकिएको १४ दशमलव २ मेगावाट क्षमताको यो आयोजना १ हप्ताभित्र चार्ज हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ । हेटौंडास्थित प्राधिकरणको ग्रीडमा कुलेखानी दोस्रोको उत्पादन जोडिएकै प्रसारण लाइनमार्फत तेस्रोको उत्पादन पनि जोड्ने तयारी भएको हो ।

२०६४ चैतदेखि काम शुरू गरिएको यो आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । निर्धारित लक्ष्यभन्दा ८ वर्षपछि आयोजनाबाट व्यावसायिक उत्पादन हुने भएको छ ।

निर्धारित समयभन्दा करीब ८ वर्ष ढिलाइ हुँदा कुलेखानी तेस्रोको लागत पनि दोब्बर भएको छ । २ अर्ब ५० करोड रुपैयाँको लागत अनुमान गरी शुरू गरिएको आयोजनाको लागत अहिले रू। ५ अर्बभन्दा माथि पुग्ने अनुमान गरिएको छ । कुलेखानी तेस्रोको निर्माण शुरू गर्दा प्रतिमेगावाट लागत रू। १७ करोड ३६ लाख थियो । अहिले यो बढेर प्रतिमेगावाट रू। ३५ करोड पुग्ने सम्भावना रहेको प्राधिकरणले बताएको छ ।

कुलेखानी तेस्रोको निर्माण कम्पनीको म्याद गत असोज २७ गते सातौंपटक ६ महीनाका लागि थप गरिएको थियो । विद्युत् प्राधिकरणले यो अन्तिम म्याद हो भन्दै निर्माण कम्पनीलाई चेतावनी दिएको थियो ।कुलेखानी–३ को वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट आवर विद्युुत् उत्पादन गर्ने क्षमता छ । विद्युत्गृहको निर्माणको ठेक्का लिएको चैच्यान च्यालिन चिनियाँ कम्पनीको ढिलासुस्तीका कारण आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नभएको आयोजना सम्बद्ध पक्षले बताएको छ ।

उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने कार्यका लागि आयोजनाको ठेकेदार चीनको चैच्यान च्यालिन कम्पनीका अधिकारी सोमवार नेपाल आइपुग्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘अन्तिम परीक्षणका लागि ठेकेदार कम्पनीका प्राविधिक सोमवार काठमाडौं आइपुग्दै छन्,’ घिसिङले भने, ‘मंगलवार आयोजनामा पुगी परीक्षणसँगै चार्ज पनि हुनेछ ।’

नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भएकोे यो आयोजना कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । कुलेखानी दोस्रोको टेलरेसबाट निस्किएको पानीमा स्थानीय खोलाको पानी मिसाएर मकवानपुरको भीमफेदी गाउँपालिकाको सानुटारमा निर्मित यस आयोजनाबाट बिजुली निकालिनेछ । उक्त पानी चार किलोमीटर लामो सुरुङ हुँदै विद्युत्गृहमा ल्याउने व्यवस्था गरिएको छ । उत्पादित विद्युत् आयोजनाबाट ५०० मीटर प्रसारण लाइन तानी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनाको दुवै टर्वाइनको परीक्षणमा समस्या नआएको खण्डमा दशैंअगाडि नै जनताले बिजुली उपभोग गर्न पाउने आयोजनाका प्रबन्धक कमल आचार्यले बताए । उनका अनुसार चिनियाँ प्राविधिक टोली मंगलवार हेटौंडा आउने र उनीहरूले नै करेन्ट उत्पादन गरी ग्रीडमा पहिलोपटक सप्लाई दिने तयारी भएको छ ।

सबस्टेशनमा चार्ज दिन अन्तिम परीक्षण भइरहेको प्रबन्धक आचार्यले जानकारी दिए । उत्पादन गृहभित्र एसी जडान गर्ने र बाहिर सडकबत्ती जडान गर्ने कामबाहेक सबै सकिएको उनले बताए । यसअघि नै दुवै टर्वाइन ४र४ घण्टा चलाएर परीक्षण उत्पादन गरिएको थियो । कुलेखानी दोस्रोबाट निस्केको पानी १३ दशमलव ५ क्यूमेकमा स्थानीय खानीखोलाको २ दशमलव ५ क्यूमेक पानी थप गरी कुलेखानी तेस्रोको टनेलमा १६ क्यूमेक पानी पठाउने व्यवस्था मिलाइएको छ । आयोजनाले ग्रीडमा जोड्ने तार तानिएको ठाउँमा यसैसाता विद्युत् प्रवाह गर्ने भएकाले सावधानी अपनाउन स्थानीयलाई सूचना जारी गरेको छ । १०२ मिटर उचाइबाट विद्युत्गृहमा रहेको टर्वाइन घुमाउन पानी पठाइनेछ । कुलेखानी पहिलो र दोस्रो आयोजना चलेको खण्डमा मात्रै तेस्रो आयोजना पनि सञ्चालन गर्न सकिने भएकाले तीनओटै आयोजनाबीच समन्वय हुनु जरुरी छ । ‘फिजिकल काम सबै सकिएको छ, सानातिना मीटर पनि सबै परीक्षण भए,’ प्रबन्धक आचार्यले भने । निर्धारित समयमा काम हुन नसक्नुमा प्राधिकरणले निर्माण कम्पनीलाई र निर्माण कम्पनीले सरकारको नीतिलाई दोष दिँदै आएका छन् ।

विलम्ब गरेबापत ८ करोड रुपैयाँ जरीवाना
कुलेखानी तेस्रोको निर्माण गर्ने ठेक्का लिएको चिनियाँ कम्पनीलाई नेपाल विद्युत् प्राधिकरणले ८ करोड रुपैयाँ जरीवाना तिराएको छ । विलम्ब शुल्कबापतको रकम निर्माण कम्पनीको रनिङ बिल भुक्तानी गर्दा नै कटाएर भुक्तानी दिइएको प्राधिकरणका अधिकारीहरूले बताएका छन् ।
भानुभक्त आचार्यले अभियान डेलीको लागि लेख्नु भएको सामाचार हामीले साभार गरेका छौँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*