विमानस्थल निर्माणपछि पोखरामा प्याराग्लाइडिङको सम्भावना

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम तीव्र रूपमा अघि बढेसँगै प्याराग्लाइडिङ सञ्चालनको सम्भावनाबारे अनुसन्धान थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न गठन गरेको टोलीले स्थलगत अवलोकन गरी सरोकारवालासँग छलफल गरेको छ । विमानस्थल सञ्चालनपछि पोखरामा प्याराग्लाइडिङ उडानलाई कसरी व्यवस्थापन र सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको टोलीका सदस्य एवं नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष तथा मुख्य प्रशिक्षक योगेश भट्टराईले बताए । पछिल्लो समय साहसिक खेलकुदका रूपमा विकास हुँदै गएको पोखराको प्याराग्लाइडिङ विश्वको पाँचौं उत्कृष्ट स्थानमा पर्दछ । अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरामा प्याराग्लाइडिङ गर्ने प्रमुख स्थान साराङकोट लगायतका क्षेत्र नै उड्डयन प्राधिकरणले ‘होल्डिङ जोन’ का रूपमा राखेपछि यहाँको प्याराग्लाइडिङ धरापमा पर्ने सम्भावना बढेको हो ।
पोखरामा विमानस्थलको निर्माण शुरू भएसँगै नागरिक उड्डयन प्राधिकरण पोखराले सरोकारवालालाई समयसीमा तोकेर प्याराग्लाइडिङ गर्ने स्थानहरूको खोजी गर्न सुझाएको थियो । पोखराका सरोकारवाला व्यवसायीले कार्यदललाई निश्चित समय तोकर साराङकोट लगायत स्थानबाटै प्याराग्लाइडिङ उडान गर्न सकिने सुझाव दिएको कार्यदलका सदस्य एवम् नेपाल हवाई खेलकुद संस्थाका सचिव इन्द्र भण्डारीले बताए । उनले विमानस्थल सञ्चालनपछि पनि पोखराको प्याराग्लाइडिङ उडान गर्न केही घण्टाको समय तोक्न अध्ययन टोलीमा छलफल भएको जानकारी दिए । पूर्वी क्षेत्रबाट ल्यान्डिङ गर्ने जहाज कारणबस ल्यान्ड गर्न नसकेर ९मिस एप्रोच० सोझै फेवातालमाथि आइपुग्न ३० सेकेन्ड लाग्ने भएकाले यसबारेमा गहन अध्ययन थालिएको सचिव भण्डारीले बताए । पोखराको साराङकोट र तोरीपानीबाट उडान गर्ने प्याराग्लाइडिङको नियमनसहित व्यवस्थापन गर्ने जिम्मेवारी नेपाल हवाई खेलकुद संस्थाले नै पाएको उनले जानकारी दिए ।