महिला अधिकार र हिंसा विरुद्धका विषयमा हेटौंडामा सार्वजनिक सुनुवाई

हेटौंडा । प्रदेश तहमा महिला अधिकार, हिंसा विरुद्धका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार हेटौडामा भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा भएको कार्यक्रममा प्रदेश तीनका प्रमुखसचिव तोयम रायको प्रमुख आतिथ्यता रहेको थियो । राष्ट्रिय महिला आयोगका सचिव दिपेन्द्र काफ्लेको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
आयोगका सचिव दिपेन्द्र काफ्लेले प्रस्तुत गरेको विवरण अनुसार आर्थिक वर्ष ०७५/०७६ मा घरेलु हिंसा अन्र्तगत शारीरिक हिंसा ४सय ५८,मानसिक हिंसा ५सय ८९, आर्थिक हिंसा २ सय २४, यौनजन्य हिंसा ४७ गरी जम्मा १३ सय १८ वटा उजुरी राष्ट्रिय महिला आयोगमा दर्ता भएका छन् । सचिव काफ्लेले सात ओटै प्रदेशमा राष्ट्रिय महिला आयोगको शाखा विस्तारका लागी सरकारसँग समन्वर्य गरीरहेको बताउनुभयो । राष्ट्रिय महिला आयोगले हिंसामा परेका महिलाहरुकालागी निशुल्क टेलिफोन सेवा उपलब्ध गराएको सचिव काफ्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव गोकर्ण मणि दुवाडि, तिन नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेत, जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, सञ्चारकर्मी लगाएतका सरोकारवालाहरुको उपस्थिती थियो । कार्यक्रममा महिला हिंसा न्युनिकरणका लागी सरोकारवालाहरु विच अन्तरक्रिया गरीएको थियो ।